काठमाण्डौ । चालु आर्थिक वर्षको भदौ महिनासम्म बीमा कम्पनीहरुको व्यवसाय वृद्धि भए पनि बीमाको दायरा भने खासै बढ्न सकेको छैन। 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ५७.८ प्रतिशत जनसंख्यामा अझै बीमाको पहुँच पुग्न सकेको छैन। जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म २९ अर्ब १२ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड बढी प्रिमियम भित्र्याएका छन्। २८ बीमा कम्पनी र ४ लघुबीमा कम्पनीले ३६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी प्रिमियम भित्र्याउँदा बीमाको दायरा ४२.२० प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ। 

गत वर्षको भदौ महिनासम्म बीमाको दायरामा आएको जनसंख्या प्रतिशत (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४४.१४ प्रतिशत थियो। गत वर्षको तुलनामा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत १.९४ प्रतिशतले घट्न पुगेको छ। 

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय बढ्न सकिरहेको छैन। पुरानै व्यवसाय नवीकरणबाट जीवन बीमा कम्पनीहरुको व्यवसाय धानिरहेको तथ्यांकले देखाउँछ। भदौ मसान्तसम्म जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ९.९५ प्रतिशतले घटेर ४ अर्ब ३३ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ। 

त्यस्तै, जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क आर्जन भने १६.८० प्रतिशतले वृद्धि भएको छ। भदौ मसान्तसम्म नवीकरणमार्फत जीवन बीमा कम्पनीहरुले २४ अर्ब ७९ करोड रुपैयाँ प्रिमियम उठाएका छन्। 

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय उल्लेख्य बढ्न नसकेपनि पुरानै व्यवसाय नवीकरणबाट बीमाशुल्क आर्जन बढाइरहेका छन्। यसकारण पनि बीमाको दायरा नबढेपनि बीमा कम्पनीहरुको व्यापार वृद्धि भएको देखिएको हो। 

प्राधिकरणले बीमाको दायरा बढाउनका लागि विभिन्न खालका बीमासम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ। प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न सार्वजनिक कार्यक्रममा चालु आर्थिक वर्ष २०८०–८१ मा बीमा दायराको जनसंख्या प्रतिशत बढाउनका लागिपरेको बताउँदै आएका छन्। 

प्राधिकरणको प्रदेशगत कार्यालयहरुले विभिन्न क्षेत्रका स्थानीयहरुसँग बीमा सचेतनासम्बन्धी कार्यक्रमहरुसमेत गर्दै आइरहेको छ। तर, प्राधिकरणले अपेक्षा गरेअनुसारको बीमाको दायरा भने बढ्न सकिरहेको छैन। 

प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई प्रदेशगत रुपमा ३ वटा क्षेत्रमा बीमा सचेतना तथा बीमा प्रवर्द्धन कार्यक्रमसमेत गर्न निर्देशन दिँदै आइरहेको छ। तर, बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशनलाई अटेर गर्दै एउटा प्रदेशमा मात्रै बीमा सचेतना कार्यक्रम गरी आलटाल गर्दै आइरहेको प्राधिकरणले जनाएको छ। 

गत वर्षको भदौ महिनामा ४४.१४ प्रतिशत जनसंख्यामा रहेको बीमाको पहुँच यस वर्ष झनै घटेर ४२.२० प्रतिशतमा कायम हुन पुगेको छ। 

बीमाको दायरा घटे पनि बीमा कम्पनीहरुको व्यापार भने फस्टाएको देखिएको छ। भदौ महिनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब २१ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। गत वर्षको भदौ महिनासम्म बीमा कम्पनीहरुले ३३ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। 

गत वर्षको तुलनामा बीमा कम्पनीहरुको व्यापार ६.७५ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको भदौ महिनासम्म जीवन बीमा कम्पनीले मात्रै २९ अर्ब १३ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले मात्रै ७ अर्ब ८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। 

यता जीवन तथा निर्जीवन दुवैतर्फको बीमालेखको संख्या भने घट्न पुगेको छ। गत वर्षको भदौ महिनासम्म १ करोड ४० लाख रहेको जीवन बीमालेखको संख्या यस अवधिसम्म ४.१८ प्रतिशतले घटेर १ करोड ३४ लाखमा कायम हुन पुगेको छ। त्यस्तै, ४ लाख ४५ हजार रहेको निर्जीवन बीमालेख संख्या ८.१५ प्रतिशतले घटेर ४ लाख ९ हजारमा सीमित हुन पुगेको छ। 

यता वैदेशिक रोजगार बीमालेख संख्या भने ५१.८४ प्रतिशतले बढ्न पुगेको छ। नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि वैदेशिक रोजगार बीमा अनिवार्य गरेकोले पनि यस्तो बीमालेखको संख्या बढ्न पुगेको हो। १–२ वटा कम्पनीले मात्रै बिक्री गर्दै आइरहेको वैदेशिक रोजगार बीमालेख हाल १० वटा जीवन बीमा कम्पनीले बिक्री गरिरहेका छन्। यसकारण पनि यो बीमालेखको संख्या गत वर्षको तुलनामा ५१ प्रतिशतले बढ्न पुगेको हो। 

गत वर्ष ११ लाख २२ हजार २९५ रहेको वैदेशिक रोजगार बीमालेख संख्या यस वर्ष बढेर १७ लाख ४ हजार ७३ पुगेको छ।