काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजी वृद्धि योजनाको सार्वजनिक समारोहहरुमै चर्को विरोध गर्दै नीति नसच्याए नेपाल नै छाड्ने धम्की दिंदै आएको विदेशी लगानीको बैंक स्ट्याण्डर्ड चार्टर्डको आर्थिक वर्ष २०७२/७३ मा नाफा घटेको छ । 

आब २०७१/७२ को तुलनामा खूद नाफातर्फ १.९० प्रतिशतको गिरावट आएको हो । अघिल्लो आबमा १ अर्ब २९ करोड खूद नाफा आर्जन गरेको यो बैंकले २०७२/७३ मा १ अर्ब २६ करोड मात्र खूद नाफा आर्जन गर्यो । 

बैंकले आइतबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार बैंकको खूद आम्दानी पनि घटेको छ । १ अर्ब ९१ करोड रहेको खूद आम्दानी यो वर्ष १ अर्ब ८५ करोडमा सीमित बनेको हो । 

यो बैंकको बित्तीय विवरण तथा सूचकहरु हेर्दा सर्वसाधारणहरुको विश्वास घटेको देखिएको छ । यही कारण बैंकले सर्वसाधारणबाट निक्षेप आकर्षित गर्न सकेन, जसका कारण समग्र विजिनेश खिइएर आम्दानी र खूद नाफामा गिरावट देखियो । 

यो बैंकले आब २०७२/७३ मा ५५ अर्ब ७२ करोड मात्र निक्षेप संकलन गर्न सक्यो । जबकि अघिल्लो आबमा बै.कले ५७ अर्ब २८ करोड निक्षेप संकलन गरेको थियो । यस्तै, बैंकले आब २०७२/७३ मा ३१ अर्ब ६९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आबमा बैंकले २८ अर्ब २ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको चुक्तापूँजी २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सञ्चित कोषमा ४ अर्ब ४० करोड रुपैयाँ छ । बैंकले संचालन नाफा १ अर्ब ६७ गरेको आर्जन गरेको छ । 

बैंकले निस्क्रिय कर्जामा झिनो सुधार गरेको छ । अघिल्लो आबमा ०.३४ प्रतिशत रहेको निस्क्रिय कर्जा दर यो वर्ष ०.३२ प्रतिशतमा झरेको हो । 

बैंकको प्रति सेयर आम्दानी र नेटवर्थ क्रमशः रु.४५ र २५६.५९ कायम भएको छ । मूल्य आम्दानी अनुपात(पीई रेसियो)८०.०१ गुणा छ । यति धेरै पीई रेसियो हुनु भनेको यो बैंक बित्तीय रुपमा खराब बन्दै गएको संकेत हो । यो बैंकको व्यापार खिइँदै जाँदा दिनहुँ बित्तीय रुपमा अस्वस्थ हुँदै गएकै कारण सर्वसाधारणको विश्वास गुमाउँदै गएको देखिएको छ ।