काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको चर्चा दिनानुदिन बढ्दो छ । अडानीको चर्चा सम्पत्ति वृद्धिका विषयमा मात्रै नभई सेयर बजारमा समेत चुलिँदो छ । हालै भारतीय सेयर बजारमा सूचीकृत भएको कम्पनी अडानी विल्मरले पर्फरमेन्सको मामिलामा नयाँ रेकर्ड कायम गरेको छ । कम्पनीले एशियाकै सर्वोत्कृष्ट आईपीओ(एशियाज् टप परफर्र्मीङ आईपीओ)को उपाधि हात पारेको छ । भारतीय सेयर बजारमा प्रवेश गरेका अधिकांश कम्पनीहरुको सेयरमूल्य जारी मूल्यभन्दा कम भइरहेका बेला अडानी विल्मरको मूल्य भने जारी मूल्यभन्दा तीनगुणा वृद्धि भइसकेको छ । 

अडानी विल्मर ज्वाइन्ट भेञ्चर कम्पनी हो । जसमा एशियाका धनाढ्य गौतम अडानीका साथै सिंगापुरको विल्मर इन्टरनेसनल लिमिटेडको पनि हिस्सेदारी रहेको छ । ब्लूमबर्गको रिपोर्टका अनुसार एशियामा यो वर्ष अहिलेसम्म १०० मिलियन डलरभन्दा बढी कुल मूल्यको १२२ वटा आईपीओ निष्कासन भइसकेको छ । यी आईपीओमध्ये अडानी विल्मरले अन्य १२२ वटा आईपीओलाई उछिन्दै एशियाकै सर्वोत्कृष्ट आईपीओ बन्न सफल भएको छ । 

रिपोर्टकाअनुसार यो वर्ष एशियामा अहिलेसम्म १२२ वटा आईपीओ जारी भएकोमा करीब दुई तिहाई आईपीओको मूल्यमा भने गिरावट आएको छ ।

विश्वभर वृद्धि भईरहेको महंगीका बीच बढीरहेको ब्याज दर र पछिल्लो तीन महिनाभन्दा बढी समयदेखि चलिरहेको रुस–युक्रेन युद्धका कारण हालै सेयर बजारमा प्रवेश गरेका कम्पनीहरुले घाटा व्यहोरिरहनुपरेको छ । यसैबीच चीनमा देखा परेको कोरोनाको नयाँ लहरले समेत सेयर बजार प्रभावित बनेको छ । 

ब्लूमबर्गको रिपोर्टकाअनुुसार अडानी विल्मरले लगानीकर्ताहरुलाई आईपीओ जारी गरेदेखि २०० प्रतिशतभन्दा बढी प्रतिफल दिइसकेको छ । र, यस मामिलामा कम्पनी पहिलो स्थानमा रहेको छ । सबैभन्दा बढी प्रतिफल दिने कम्पनीमा अडानी विल्मरपछि चीनको जिन्को सोलार भन्ने कम्पनी रहेको छ । जसले आईपीओपश्चात अहिलेसम्म १७० प्रतिशत प्रतिफल दिएको छ । तेस्रो स्थानमा चीनकै फुजिआज टेन्डरीङ कम्पनी रहेको छ । यो कम्पनीले पनि आईपीओ जारीपश्चात अहिलेसम्म १३० प्रतिशत प्रतिफल दिन सफल भएको छ । यस्तै चौथो र पाचौँ स्थानमा पनि चीनकै कम्पनीको दबदबा छ ।

चौथो स्थानमा पायोटेक र पाचौँ स्थानमा जियांंग्शी सनसाइन रहेका छन् । यी कम्पनीले क्रमशः १०० र ९० प्रतिशत प्रतिफल दिएका छन् ।

–एजेन्सी