काठमाण्डौ । हिन्डनबर्गको प्रतिवेदनपछि अडानी ग्रुपका कम्पनीहरुको सेयरभाउमा यस्तो गिरावट आएको थियो कि बजार पुँजीकरण ६०–७० प्रतिशतले घटेको थियो । तर, एक सम्झौताले सबै परिवर्तन गरेको छ। 

अमेरिकी बुटिक इन्भेस्टमेन्ट फर्म जीक्यूजी पार्टनर्सले कठिन समयबाट गुज्रिरहेको अडानी ग्रुपका कम्पनीहरुमा १५ हजार ४४६ करोड रुपैयाँ लगानी गर्यो। त्यसपछि अडानी ग्रुपका कम्पनीहरुको सेयरभाउमा उछाल आएको छ। 

राजीव जैनको कम्पनी जीक्यूजीले अडानी ग्रुपका ४ कम्पनीमा लगानी गरेको छ। अहिले सेयरमा भएको उछालका कारण राजीव जैनले ठूलो नाफा आर्जन गरिरहेका छन्।

कठिन समयमा अडानी ग्रुपमा लगानी गरेका राजीव जैनले ३ दिनमा बम्पर नाफा कमाए। उनको कम्पनी जीक्यूजी पार्टनर्सले खरिद गरेको सेयरको लगानीबाट ४ हजार २४५ करोड रुपैयाँ कमाएको छ। 

गत मार्च २ मा जीक्यूजी कम्पनीले बल्क सम्झौतामार्फत अडानी ग्रुपको १५ हजार ४४६ करोड रुपैयाँको सेयर खरिद गरेको थियो। सोमबार यो रकम बढेर १९ हजार ६९१ करोड रुपैयाँ पुगेको छ। 

अडानी समूह हिन्डनबर्गको झट्काबाट मुक्त हुन कोसिस गरिरहेको छ। सेयरभाउमा निरन्तर वृद्धि भइरहेको छ।

जीक्यूजी पार्टनर्सले अडानी इन्टरप्राइजेजको प्रतिसेयर १४१०.८६ रुपैयाँमा सेयर खरिद गरेको थियो । सोमबार यो कम्पनीको सेयर मूल्य २१३५ रुपैयाँ पुगेको छ। 

त्यस्तै उक्त कम्पनीले अडानी पोर्ट्सको सेयर ५९६.२ रुपैयाँ प्रतिसेयरको दरले खरिद गरिएको थियो । सोमबार ७०६ रुपैयाँ पुग्यो।

जीक्यूजी पार्टनर्सले प्रतिसेयर ५०४.६ रुपैयाँमा अडानी ट्रान्समिसनको सेयर खरिद गरेको थियो । सेयर सोमबार ७८०.९० रुपैयाँको स्तरमा पुगेको थियो। –एजेन्सी