काठमाण्डौ । भारतको भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट भारत तथा विश्वका अन्य देशहरुमा कोभिसिल्ड भ्याक्सिन आपूर्ति गर्ने विश्वकै सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । यो इन्स्टिच्युटमा ठूलो मात्रामा कोभिसिल्ड भ्याक्सिनको उत्पादन भइरहेको छ ।
कोरोना संक्रमण देखापरेसँगै भारतका जनतामाझ पूनवाला सिरम इन्स्टिच्युटको नाम चर्चाको शिखरमा रहेको छ । यसको एउटै कारण भनेको यस इन्स्टिच्युटबाट विकास गरिएको कोभिसिल्ड भ्याक्सिन हो । विश्वभरमा भयावह रुपमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सिरम इन्स्टिच्युटले प्रयोगको अनुमति प्राप्त गर्नुअघि नै काभिसिल्डको जोखिमयुक्त उत्पादन सुरु गरेको थियो । यसबीचमा परीक्षण असफल भएमा कोभिसिल्डका लागि भएका सबै प्रयासहरु बिफल हुने चुनौति इन्स्टिच्युटसामु थियो । तर त्यतिबेला विश्वसँग जोखिम उठाउनुका अलावा अन्य कुनै विकल्प पनि थिएन ।
यतिबेला सिरम इन्स्टिच्युटकासामू विश्वभरको भ्याक्सिनको माग पूरा गर्ने चुनौति छ । त्यो पनि यस्तो समय जब सम्पूर्ण मानव जगतको अस्तित्व भ्याक्सिनमाथि निर्भर छ ।
कोभिसिल्ड भ्याक्सिन एकदमै कम समयमा तयार भएको थियो । यो आधुनिक मेडिसिनको सबैभन्दा चाँडो तयार गरिएको भ्याक्सिन भएको दाबी गरिएको छ । जब विश्वभर कोरोना भ्याक्सिनमाथि कयौँ अनुसन्धानहरु भइरहेका थिए, तब सम्पूर्ण विश्वको ध्यान अक्सफोर्ड–एस्त्रेजेनेकामाथि टिकेको थियो ।
सुरुवाती समयमा सिरम इन्स्टिच्युटले जब एस्त्रेजेनेकासँग सम्झौता गर्यो तब भारतले पनि राहतको स्वास फेर्यो । यतिबेला सिरम इन्स्टिच्युट कोभिडसिल्डको उत्पादन मात्रै नगरिकन आफ्नो कोरोनाको दुुईवटा भ्याक्सिन विकास पनि गरिरहेको छ । जसमा नोभाभ्याक्स पनि समावेश छ ।
भारतमा २०२१ जनवरीमा खोप अभियान सुरु भएको थियो । भारतमा कोभिसिल्डसँगै कोभ्याक्सिनलाई सँगै अनुमति दिइएको थियो । काभिसिल्डसँग ठूलो सर्कुलेसन सिस्टम रहेको छ । त्यसैले यसलाई भारतको मात्रै नभएर विश्वको नै सबैभन्दा धेरै वितरित भ्याक्सिन भएको दाबी गरिएको छ । सिरम इन्स्टिच्युटमा तयार गरिएको कोभिसिल्ड भ्याक्सिनको करोडौ डोज भारत बाहिर पनि पठाइएको थियो ।
अन्य देशहरुलाई पनि उपलब्ध गराउनुछ भ्याक्सिन
देशहरुका बीच भएको सहमतिबमोजिम नै कोभ्याक्स आपूर्ति सुरु हुन गईरहेको थियो । तर मार्च महिनामा भारतमा कोरोनाको दोस्रो लहर देखिन थाल्यो । भारतमा अचानक भ्याक्सिनको माग बढ्न थाल्यो । राज्य सरकारहरुबाट दवाब आउन थाल्यो । जसका कारण आपूर्ति तथा उत्पादन बढाइयो । तर भारतभित्र माग धेरै भएका कारण भारतबाहिर आपूर्ति गर्न नहुने आलोचना सुरु भयो ।
यस्तोमा भारत सरकारले भारतबाहिर हुने भ्याक्सिनको आपूर्ति बन्द गर्यो ।
अब भारतसँग सम्झौता गरेका देशहरुले भ्याक्सिनका लागि कम्तीमा पनि एक वर्षसम्म कुर्नुपर्ने भएको छ । भारतमा नै भ्याक्सिनको प्रक्रिया सुस्त रहेकाले सिरम इन्स्टिच्युट र पूनावाला आशा अनि आलोचनाको केन्द्रमा रहेका छन् ।
सिरम इन्स्टिच्युटका सीइओ अदार पूनावाला इन्स्टिच्युटका संस्थापक तथा आफ्ना बुुवा सायरस र परिवारका साथ लन्डन पुुगेका छन् । उनी देशभित्रबाट आएका धम्कीहरुका कारण देश बाहिर गएको अफवाहहरु फैलिएका छन् । तथापी उनले यी आरोपहरुको खण्डन गरेका छन् । उनले बेलायतमा एउटा ठूलो लगानीको घोषणा समेत गरेका छन् ।
यस्तोमा मानिसहरुलाई पूनावाला र सिरम इन्स्टिच्युटको साम्राज्य कसरी सुरु भयो भन्ने जिज्ञासा लाग्नसक्छ ।
घोडाबाट भ्याक्सिनको व्यापारसम्मको यात्रा
पूनावालाको परिवार अंग्रेज शासनकालमा १९ औँ शताब्दीमा भारतको पूणे आएको बताइन्छ । कयौँ पारसी परिवार अंग्रेज शासनकालमा भारतमा बसोवास गरे र प्रशासनदेखि लिएर व्यापार व्यवसायमा स्थापित भए । पारसी परिवार जहाँ बसे ती शहरहरुको नाम उनीहरुको नाममा देख्न सकिन्छ । यसप्रकार अदारको परिवारको नाम पूनावाला हुन गयो ।
भारत स्वतन्त्र हुनुअघि यो परिवार निर्माणको काम गर्ने गर्दथ्यो । तर यो भन्दा पनि घोडाको कारोबारबाट यो परिवारको नाम चर्चित हुन पुुग्यो । आज पनि यो परिवारलाई मानिसहरु घोडाको कारोबारी भनेर चिन्ने गर्दछन् । घोडाको कारोबार अदारका हजुरबुवा सोलि पूनावालाले सुरु गरेका थिए ।
उनले एउटा तबेला बनाए, जसमा दौडका लागि उन्नत प्रजातिका घोडाहरु तयार गर्ने गरिन्थ्यो । बेलायती अधिकारी र ठूला व्यवसायीसँग यो परिवारको सम्बन्ध घोडाको कारोबारबाट कायम भएको थियो ।
तर भ्याक्सिन निर्माता सिरम इन्स्टिच्युटको सुरुवात कसरी भयो ? वास्तवमा यसको सम्बन्ध पनि घोडाको कारोबारसँग जोडिएको छ । अदारका बुवाले जब आफ्नो घोडाको कारोबार बढाउने सोंच बनाए तब उनको ध्यान एउटा यस्तो क्षेत्रमा गयो, जसको बारेमा अधिक जानकारी उपलब्ध थिएन । र, न कसैले यो क्षेत्रको भविष्यको सूनिश्चिीतता दिन सकोस् ।
तर सायरसले यो जोखिम उठाए र भ्याक्सिन निर्माणको कारोबारमा पाइला टेके । यो त्यो समय थियो जब भारतमा सीमित मात्रामा भ्याक्सिन उत्पादन हुने गर्दथ्यो र त्यसमा पनि सरकारको भूमिका अधिक हुने गर्दथ्यो ।
त्यतिबेला मुम्बईमा हाइफिन इन्स्टिच्युटले भ्याक्सिन उत्पादन गर्दथ्यो । पूनावालाको घोडा फार्ममा बुढा भएका घोडाहरुको प्रयोग सर्पदंश र टिटनासको खोप बनाउनमा हुने गर्दथ्यो । घोडाको रगतमा हुने सिरमबाट एन्टीबडी विकास गर्नका लागि घोडाहरुको प्रयोग गर्ने गरिन्थ्यो । सायरसको ध्यान यसतर्फ गएपछि उनले आफ्नो फार्ममा बुढा भएका घोडाहरुको प्रयोग आफैं गर्ने निर्णय गरे ।
सायरसले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी हाम्रो घोडाहरु हाइफिन इन्स्टिच्युटलाई दिने गर्दथ्यौ । त्यहाँ कार्यरत एकजना डाक्टरले तपाइँसँग घोडा छ, जमिन छ । यदि तपाइँ भ्याक्सिन उत्पादन गर्न चाहनुहुन्छ भने तपाइँलाई केवल एउटा कारखानाको मात्रै आवश्यकता पर्छ भने ।’
यो सल्लाहबाट उनले नयाँ उद्योगका लागि अवसर देखे । परिणामस्वरुप उनले सन् १९६६ मा सिरम इन्स्टिच्युटको स्थापना गरे । यो त्यो समय थियो जतिबेला भारत र विश्वभरका सरकारहरु संक्रामक रोगहरुविरुद्ध खोप अभियान चलाइरहेका थिए । जसका कारण भ्याक्सिनको अनुुसन्धान, विकास र प्रयोगमा ध्यान दिइँदै थियो । स्थापना भएसँगै सिरम इन्स्टिच्युटले कयौँ रोगहरुका लागि भ्याक्सिनहरु उत्पादन गर्न सुरु गर्यो ।
हाइफिन इन्स्टिच्युटका कयौँ अनुसन्धानकर्ताहरु सिरमसँग जोडिए । सन् १९७१ मा दादुरा र स्क्रोफुला रोगको भ्याक्सिन प्रभावकारी बन्यो । यसको केही समयपश्चात अन्तर्राष्ट्रिय स्तरमा पोलियो उन्मुलन कार्यक्रम सुरु गरियो । सिरमले यो कार्यक्रमलाई अवसरका रुपमा लियो । सिरमले यूरोप र अमेरिकी प्रविधि भित्र्याएर उत्पादन बढायो र त्यसको मूल्य सस्तो राख्यो ।
तथापि सामाजिक स्वास्थ्यसँग जोडिएका खोप कार्यक्रमहरु अहिले पनि सरकारको हातमा रहेको छ । यस्तोमा जोकोहीले पनि सरकारको नियमहरु र अवरोधहरुको सामना गर्नुपर्ने हुन्छ र सिरमले पनि यस्तै अवस्थाबाट गुज्रिनु पर्यो ।
सायरस भन्छन्,‘कयौँ प्रकारका अनुमतिहरु प्राप्त गर्नुपर्ने हुन्थ्यो । यसका लागि महिनौ र वर्षौ लाग्ने गर्दथ्यो । सुरुवाती २५ वर्ष त एकदमै कठिनताका साथ बित्यो । यसपश्चात हाम्रो वित्तीय अवस्था बलियो बन्यो । पेपरवर्क गर्नका लागि हामीसँग उपयुक्त व्यक्तिहरुको समूह थियो । जो दिल्ली गएर सरकारी अधिकारीहरुको दयामा काम गर्ने गर्दथे । यस्तै अवस्था अहिले पनि यथावत नै छ । यदि यस्ता कर्मचारीहरुलाई ध्यान दिइएन भने परमिट प्राप्ति प्रक्रिया ढिलो हुने गर्दछ ।’
सायरसको कार्यकालमा सिरम इन्स्टिच्युटको भ्याक्सिन उत्पादनमा दबदबा स्थापित भयो । सिरम इन्स्टिच्युटले विश्वभर भ्याक्सिन आपूर्ति गर्न थाल्यो र विश्वका धनाढ्यको सूचीमा सायरसको नाम पनि अगाडि आउन थाल्यो ।
सायरसले सिरम इन्स्टिच्युटको सुरुवात ५ लाख रुपैयाँँबाट गरेका थिए । अहिले सायरस विश्वका धनाढ्यको सूचीमा १६५ औँ स्थानमा रहेका छन् । फोब्स इन्डियाका अनुसार उनी भारतकोे छैठौँ धनाढ्य हुन् ।
अदारको कार्यकालः ३५ देशबाट १६५ वटा देशमा फैलियो कारोबार
अदार पूनावाला बेलायतमा आफ्नो पढाई सकेर सन् २००१ मा सिरम इन्स्टिच्युटसँग जोडिए । सर्वप्रथम उनले सेल्स डिपार्टमेन्टमा काम गरे । अहिले इन्स्टिच्युटमा अदारको छाप उनका बुवाको भन्दा धेरै देखिएको छ । सायरसको कार्यकालमा सिरम भारतमा मात्रै केन्द्रित थियो ।
सन् २०११ मा अदार पूनावाला सिरम समूहको सीईओ बने । सीईओ बनेपछि उनले मुख्यतः दुुईवटा कुरामा बढी ध्यान केन्द्रित गरे । एक त उनले भ्याक्सिनको उत्पादन क्षमता बढाउनतर्फ ध्यान दिए भने अर्काेतर्फ धेरैभन्दा धेरै देशमा भ्याक्सिनको आपूर्तिमा ध्यान दिए । सन् २००१ सम्म सिरमले ३५ वटा देशमा भ्याक्सिन आपूर्ति गर्ने गर्दथ्यो । तर अहिले सिरमले विश्वका १६५ देशमा भ्याक्सिन आपूर्ति गरिरहेको छ ।
तथापि यो विस्तार र प्रविधिमा गरिएको सम्पूर्ण लगानी पारिवारिक कारोबार भएको पूनावाला बताउँदै आइरहेका छन् । उनका अनुसार यसमा केवल उनको परिवारको पैसा मात्रै लगानी भएको छ ।
कम्पनीले केही प्राइभेट इक्विटीका माध्यमबाट पनि लगानी जुटाउने प्रयास गरेको थियो । तर त्यो सफल भएन । यदि यस्तो भएको भए सिरम इन्स्टिच्युट पनि लगानी जुटाउनका लागि आम सर्वसाधारणमा जाने थियो ।
कोरोनाको भ्याक्सिन बनाउनका लागि सिरमले निकै ठूलो जोखिम उठायो र सफलता पनि हात पार्यो ।
खोप अभियानको सुरुवात र आलोचना
सिरम इन्स्टिच्युटको विकास मात्रै नभई कोरोना संक्रमण महामारीलाई लिएर दुरदर्शी सोच राख्नेवाला पूनावालाले खोप अभियानको सुरुवातमा आलोचनाको समेत सामना गुर्नपर्यो । यो आलोचनाका कारण भारतमा खोप अभियान सुुस्त गतिमा चलिरहेको छ । भारतमा कारेनाको दोस्रो लहर बढेपछि खोप अभियानका लागि दवाब बढ्यो । सुरुवातमा सम्झौताबमोजिम भारतले अन्य देशहरुलाई भ्याक्सिन उपलब्ध गरायो । यस्तै भ्याक्सिनको पर्याप्त उत्पादन नभइरहेका बेला राज्य सरकारहरुलाई समेत भ्याक्सिन खरिद गर्ने अधिकार दिइयो । विश्वमा उत्पादन भएका अन्य भ्याक्सिनका लागि अर्डर पनि दिइएन ।
यस्तोमा सिरम इन्स्टिच्युट र भारत सरकारसामु विश्वको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन क्षमता भएर पनि किन यस्तो अवस्था सिर्जना भयो भनेर प्रश्नहरु उठ्न थालेका छन् ।
अदार पूनावालाले खोप अभियान सुरुहुनुभन्दा अघि नै एक ट्वीट गर्दै भारतीयहरुलाई भ्याक्सिनको दुुई डोज दिनका लागि ८०,००० करोड भारतीय रुपैयाँ आवश्यक पर्ने सल्लाह दिएका थिए । यसका साथै उनले आवश्यक डोज आपूर्ति गर्नका लागि केही समय लाग्ने बताएका थिए ।
उनले भारतलाई प्राथमिकता दिने नीतिमा काम गरे र भ्याक्सिनको सबै खुराक केन्द्र सरकारलाई सुम्पिए । यसका साथै उनले गरिब देशसँग भएको सम्झौताको विषयलाई उठाए । भ्याक्सिनको उत्पादन लागत र सिरमले भारत सरकारलाई उपलब्ध गराउने मूल्यमा अन्तर रहेको छ ।
यसैबीच अमेरिकाले कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगायो । जसका कारण अदार पूनावालाले अमेरिकी राष्ट्रपतिलाई ट्याग गर्दै एक ट्वीट गरे ।
तथापि यी सबैका बाबजुत पनि खोप अभियानको नीति र वास्तविक कार्यक्रमको आलोचना जारी नै रहेको छ । सिरम इन्स्टिच्युट र अदार पूनावालाले बेला–बेला आफ्नो पक्षमा कुराहरु राख्नु परिरहेको छ ।
केन्द्र सरकारले राज्य सरकारहरुलाई भ्याक्सिन खरिद गर्न अनुमति प्रदान गर्दा भ्याक्सिन कहिलेसम्म उपलब्ध हुन्छ भनेर कुनै स्पष्ट जानकारी दिएको थिएन । केन्द्रलाई १५० भारुमा उपलब्ध हुने भ्याक्सिन राज्य सरकारहरुलाई ४०० भारुमा किन उपलब्ध गराइँदैछ भनेर केन्द्र सरकारले अहिलेसम्म कुुनै कारण खुलाएको छैन ।
भारतका राज्य सरकारहरुले भ्याक्सिन उत्पादनका लागि दवाब दिइरहेका छन् । बढ्दो दवाबका कारण केन्द्र सरकारले सिरम इन्स्टिच्युटलाई देश बाहिर भ्याक्सिन आपूर्ति गर्न प्रतिबन्ध लगाएको छ । जसका कारण अन्य देशमा सिरमको अस्तित्व संकटमा परेको छ ।
जीवनशैलीका कारण चर्चामा
यतिबेला अदार पूनावाला कोरोना भ्याक्सिनका कारण चर्चामा रहे पनि उनको परिवार आफ्नो जीवनशैलीका कारण पहिलैदेखि नै चर्चामा रहने गर्दथ्यो । पुनेमा अदारको शानदार घोडा फार्म र फार्म हाउस रहेको छ । यसका साथै अहिले उनको बेलायतमा रहेको महल पनि चर्चामा रहेको छ ।
सन् २०१५ मा उनले मुम्बईको समुन्द्री तटमा एउटा आलिसान घर खरिद गरेका थिए । जुन पहिले अमेरिकी वाणिज्य दूतावास थियो । उनले यो घर ११ करोड अमेरिकी डलरमा खरिद गरेका थिए । यो त्यति बेला मुृम्बईको सबैभन्दा महंगो घर थियो ।
आफनो बुवा सायरस जस्तै उनमा पनि महंगा र विलासी वस्तुहरु प्रति मोह रहेको छ । उनीसँग २० वटा कार रहेका छन् । यसमा रोल्स फरारी, बेन्ट्ले, र ल्याम्बोरगेनी जस्ता महंगा कारहरु रहेका छन्।
(बीबीसीबाट धर्म मलासीको भावानुवाद)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago