काठमाण्डौ । विश्वका सबैभन्दा ठूलो युट्युबर जिमी डोनाल्डसनका सब्सक्राइबरको संख्या २० करोड पुगेको छ। उनीअघि एउटामात्र युट्युब च्यानलले यो उपलब्धि हासिल गरेको थियो।

भारतमा टी–सिरिजको युट्युब च्यानलका सब्सक्राइबरको संख्या २५.१ करोड छ। अनलाइन संसारमा जिमी डोनाल्डसन मिस्टरबिस्ट भनेर चिनिन्छन्।

उनले करिब एक दशकअघि १२ वर्षको उमेरमा युट्युब करियर सुरु गरेका थिए। सुरुमा उनले निकै संघर्ष गर्नुपरेको थियो तर आज उनको हरेक भिडियोमा लाखौँ भ्युज हुन्छ। 

मिडिया रिपोर्टका अनुसार डोनाल्डसनको कुल सम्पत्ति १० करोड डलर छ। युट्युबबाट उनको वार्षिक आम्दानी २ करोड ६० लाख डलरभन्दा बढी छ। उनले आफ्नो युट्युब च्यानलमा विज्ञापन गरेर पैसा कमाउँछन्।

उनले आफ्नो मुख्य युट्युब च्यानलका लागि १० लाख प्रायोजन शुल्क लिन्छन्। साथै, उनले व्यापारिक सामानबाट हरेक महिना करिब २५ लाख डलर कमाउँछन्।

२५ वर्षीय डोनाल्डसन अमेरिकाको नर्थ क्यारोलिनाको ग्रीनभिल सहरका हुन्। उनले १२ वर्षको उमेरदेखि नै युट्युबमा भिडियो पोस्ट गर्दै आएका थिए तर सफलता भने पाइरहेका थिएनन्। 

सन् २०१६ मा डोनाल्सनले विद्यालय छाडेर मिडियाको सबैभन्दा ठूलो पजल सुल्झाउने प्रयास गरे। युट्युबमा एउटा भिडियो कसरी भाइरल हुन्छ, त्यो एउटा पजल थियो। त्यतिबेला उनको उमेर १६ वर्ष थियो।

उनले करिब ५ वर्षदेखि युट्युबमा भिडियो पोस्ट गर्दै आए पनि सफलता पाउन सकेको थिएन। उनले महसुस गरे कि उनी युट्युबको एल्गोरिदम अनलक गर्न धेरै नजिक थिए। त्यसपछि उनले आफ्ना केही साथीसँग मिलेर यो कोड र्क्याक गर्ने प्रयास गरे।

डोनाल्डसन सम्झन्छन्, ‘म सधैँ युट्युबका बारेमा सोचिरहन्थेँ, भिडियो र फिल्म निर्माणका बारेमा सोच्थेँ। यो मेरो दिनचर्या थियो।’

स्कुल छोड्दा डोनाल्डसनकी आमा निकै निराश भइन्। आमाले डोनाल्डसनलाई घरबाट निकालेकी थिइन्। तर, डोनाल्डसनको निर्णयले सार्थकता पायो। सन् २०१७ मा डोनाल्डसनको पहिलो भाइरल भिडियोमा उनले आफ्नो कोठाभित्र कुर्सीमा बसेर १ लाख अंक गनेका थिए। यसका लागि उनलाई ४० घन्टा लाग्यो। 

फलोअरको संख्या बढ्दै गएपछि डोनाल्डसनले विज्ञापन पनि पाउन थाले। उनले यो कमाइ भिडियो बनाउन खर्च गरे र उत्कृष्ट स्टन्ट गरे।

आज युट्युबमा डोनाल्डसनका फलोअर्सको संख्या २० करोड पुगेको छ। जुलाईसम्मको तथ्यांकअनुसार उनको टिकटकमा ८ करोड ५० लाख र इन्स्टाग्राममा ३ करोड ९० लाख फलोअर्स छन्। मेटाको नयाँ सामाजिक एप थ्रेड्समा १० लाख फलोअर्स हासिल गर्ने उनी पहिलो व्यक्ति थिए। उनले मेटाका सीईओ मार्क जुकरबर्गभन्दा अगाडि यो उपलब्धि हासिल गरेका थिए। उनले यो उपलब्धि आफ्नै शैलीमा मनाए र अनियमित रुपमा चयन गरिएका फ्यानलाई टेस्ला कार उपहार दिए। –एजेन्सी