काठमाण्डौ । नेपालको आर्थिक वृद्धिदर निकै सुस्त छ । छिमेकी भारत र चीन आर्थिक रुपमा निकै अगाडि बढिसक्दा नेपाल अझै पनि द्रूत आर्थिक वृद्धिको बाटोमा पुग्न सकेको छैन । के तपाईलाई थाहा छ संसारको सबैभन्दा छिटो बढिरहेको अर्थतन्त्र कुन हो ? जवाफ हो गुयाना हो। 

यो देश सन् २०१८ यता विश्वको सबैभन्दा द्रुत गतिमा बृद्धि हुने अर्थतन्त्र भएको छ। पछिल्लो पाँच वर्षमा यसले २७.१४ प्रतिशतको औसत आर्थिक वृद्धि हासिल गरेको छ । 

यसको अर्थतन्त्र सन् २०२३ मा ६२.३ प्रतिशतको दरले वृद्धि हुने र अर्को वर्ष ३८ प्रतिशतको दरले वृद्धि हुने अपेक्षा गरिएको छ । 

आईएमएफका अनुसार यो वर्ष भारतीय अर्थतन्त्र ६ दशमलव १ प्रतिशतको दरले बढ्न सक्छ । यसको मतलब गुयानाको अर्थतन्त्रको गति भारतको भन्दा ६ गुणा छ।

दक्षिण अमेरिकाको उत्तरी एट्लान्टिक तटमा अवस्थित गुयानालाई सन् २०१५ सम्म विश्वकै गरिब देशहरूमा गनिन्थ्यो। तर सोही वर्ष, एक्सन मोबिल कर्पोरेसनले गुयानाबाट १०० माइल टाढा तेलको ठूलो भण्डार फेला पारेको थियो। यसबाट गुयानाले वार्षिक १० अर्ब डलर आम्दानी गर्ने र सन् २०४० सम्ममा यसको खजानाले १५७ अर्ब डलर ल्याउने अपेक्षा गरिएको छ। 

एक्सन र यसका साझेदारहरूले गत वर्ष गुयानामा तेल उत्पादनबाट ५.८ बिलियन डलर कमाए। यो वर्ष एक्सनले गुयानाको तेल परियोजनामा ​​१२.७ बिलियन डलर लगानी गर्ने घोषणा गरेको थियो।

तेलले बदल्यो भाग्य
तेलको खोजले गुयानाको मुहार नै बदलिदिएको छ । पछिल्लो पाँच वर्षमा देशको अर्थतन्त्रको आकार चार गुणाले बढेको छ । गुयानाको जनसंख्या आठ लाख मात्रै छ र त्यसको तुलनामा त्यहाँ तेलको भण्डार निकै ठूलो छ। 

आगामी दिनमा गुयानाले कुवेतलाई उछिनेर विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति कच्चा तेल उत्पादक बन्नसक्ने विश्वास गरिएको छ । 

गुयाना दक्षिण अमेरिकाको एक मात्र देश हो जहाँ अंग्रेजी बोलिन्छ। सरकारले सार्वभौम सम्पत्ति कोष बनाउने कानुन बनाएको छ । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा पनि खर्च बढिरहेको छ ।