काठमाण्डौ । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या बढिरहेको छ। साना देशमात्र होइन विश्वका ठूला अर्थतन्त्रहरुमा यतिबेला बेरोजगारी दर निकै बढेको छ। 

नेपालकै कुरा गर्ने हो भने रोजगारीको अभावमा बर्सेनि लाखौँ युवा विदेशिने गरेका छन्। यसका बाबजुद नेपालमै एकै व्यक्ति दुईभन्दा बढी कार्यालयमा पार्टटाइमका रुपमा काम गरिरहेका प्रशस्त उदाहरण पनि छन्। तर, एकैपटक डेढ दर्जन कम्पनीमा काम गर्न सम्भव छ ? पक्कै पनि छैन। तर, यस्तै एउटा घटनाले अहिले निकै चर्चा पाएको छ। 

यो कुरा चीनको हो। त्यहाँकी एक युवती एकै समयमा १६ विभिन्न कम्पनीमा काम गरिरहेकी थिइन्। तर, अचम्मको कुरा के छ भने उनी कहिल्यै अफिस गइनन्। पैसा भने मनग्य कमाइरहेकी थिइन्। 

विगत ३ वर्षदेखि यस्तो भइरहेको थियो। उनी यति धनी भइन् कि उनले एउटा बंगला पनि किनिन्। तर, अहिले उनी प्रहरीको फन्दामा परेकी छन्। 
आरोपित युवतीको नाम गुआन युई हो। उनी फेरि अर्को जागिरको अन्तर्वार्ताका क्रममा पक्राउ परेका हुन्।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार गुआनले जागिरको अन्तर्वार्ताका क्रममा तस्बिरहरु क्लिक गरिरहेकी थिइन्। उनले विभिन्न कम्पनीका च्याट ग्रुपमा सेअर गरिन्। उनले सबै ग्रुपमा लेखेकी थिइन् कि उनी ग्राहकसँग भेट्दै छिन्। तर, यसपटक उनको बदमासी फेला पर्यो। 

एकैपटक १६ वटा कम्पनी काम गर्न उनले आफूसँग कम्पनीको नाम, काम सुरु गरेको मिति, पदको नाम र विभिन्न बैंक तलबी खाताजस्ता सबै विवरण लेखेकी थिइन्। उनले एकैचोटि धेरै कम्पनीलाई मूर्ख बनाइरहेकी थिइन्। 

गुआनसँगै उनका पति चेन छ्याङ पनि यो काण्डमा संलग्न छन्। जनवरी २०२३ मा एक कम्पनीका मालिक लिउ जियानले कागजातमा गडबडी पत्ता लगाएपछि यो कुरा बाहिर आएको हो। 

अक्टोबर २०२२ मा यो कम्पनीले टिम लिडरसहित अन्य सातजनालाई जागिर दिएको थियो। तीमध्ये टिम लिडरको तलब २० हजार युआन थियो। बाँकी कर्मचारीको १० हजार युआनको हाराहारीमा थियो। 

ती सबैको सीभीमा कामको अनुभव निकै राम्रो रहेको थियो। तर, उनीहरुले अपेक्षा गरेअनुसार काम गर्न सकेनन्। कम्पनीले सबैसँग जागिरको सम्झौता खारेज गर्यो। 

त्यसपछि लिउले सबैका कागजातमा गडबडी देखे। उनले प्रहरीलाई खबर गरे। छानबिन गर्दा गुआनको धेरै बैंक खाता रहेको पाइएको थियो। तलबका रुपमा धेरै पैसा आएको देखियो। 

प्रहरी अनुसन्धानमा गुआनको एउटा ठूलो गिरोह नै रहेको पत्ता लाग्यो। जसले कम्पनीहरुलाई मूर्ख बनाएर जागिर खान्थे। उनीहरुले नक्कली कागजात र आकर्षक सीभीका आधारमा जागिर पाउँथे। ग्राहकलाई भेट्ने बहाना बनाउने र काम नगरी तलब खाने उनीहरुको टार्गेट हुन्थ्यो। 

स्थानीय प्रहरीले गुआनको समूहका ५३ जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ। 

चीनमा यो पहिलो घटना भने होइन। यसअघि पनि यस्ता घटना थ्रुपै भएका छन्। –एजेन्सी