काठमाण्डौ । चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हो । यो कुरा थाहा पाएर पनि अक्सर नेपालीहरुले दिनको सुरुवात चियाको चुस्कीबाटै गर्छन् । 

घरमा एकाबिहानै उठेर चिया पिउनु आम नेपालीको घरको नियमित कार्यजस्तै भइसकेको छ । 

कामकाजी मानिसहरुले त दैनिक चिया केही कप पिउँदा समेत धित मर्दैन । घरबाट अफिस वा काममा हिँडेपछि पनि चियाको चुस्कीको लतले छाड्दैन । जाडो भगाउने नाममा चिया र चुरोट सेवन गर्नेहरुको संख्या पनि नेपालमा धेरै नै छ । 

तर के तपाईलाई थाहा छ ? चिया पिउन कम गर्दा वा पिउनै छाड्दा स्वास्थ्यलाई जति फाइदा हुन्छ, त्योभन्दा बढी यदि त्यसमा हुन खर्च जोगाएर नियमित लगानी गर्न सके त्यसले तपाईलाई करोडपति बनाइदिनसक्छ । यदि युवा उमेरबाटै चिया वा चुरोटको लत लागेको छ भने त्यसलाई घटाएर वा छाडेर योजनाबद्ध ढंगले सानो रकम लगानी गर्नुभयो भने तपाई हेर्दा हेर्दै करोडपति बन्नसक्नुहुनेछ । 

कसरी ?
यहाँ एउटा सामान्य हिसाब गरौं । तपाईले दैनिक २ पटक चिया पिउनुहुन्छ भने त्यसको मूल्य ५० रुपैयाँ मानिदिनुस् । साथमा चुरोट समेत सेवन गर्ने बानी छ भने त त्यो खर्च अझ बढेर दैनिक न्यूनतम १०० रुपैयाँ हुनसक्छ । 

यी दुवै उदाहरणलाई हेरौं । यदि तपाईको चियामा दैनिक ५० रुपैयाँ खर्च भइरहेको छ भने त्यसलाई जोगाउनुस् र लगानी गर्नुस् । 

यस्तै, १०० रुपैयाँ खर्च हुन्छ भने त्यसलाई पनि पूरै जोगाएर लगानी गर्न थाल्नुस् । 

नेपालमा सिस्टेमिक इन्भेष्टमेन्ट प्लान(एसआइपी)मा लगानीका विभिन्न विकल्पहरु उपलब्ध छन् । यस्ता स्किम खुल्लामुखी म्युचुअल फण्ड हुन्, जसमा तपाईले लामो अवधिका लागि सिस्टेमिक ढंगले लगानी गर्न सक्नुहुन्छ । 

नेपालका एसआइपीहरुको कुरा गर्ने हो भने तिनीहरुको वार्षिक औसत प्रतिफल १५ प्रतिशत छ । कतिपयको त २० प्रतिशत पनि हुन्छ। 

औसतमा १५ प्रतिशत मात्रै वार्षिक रिटर्न राखेर हिसाब गरौं र हेरौं:
यदि तपाईको उमेर २० वर्ष छ र तपाईले चियाको खर्च जोगाएर लगानी गर्नुभयो भने दैनिक ५० रुपैयाँको दरले तपाईको मासिक १५०० रुपैयाँ जोगिनेछ । मासिक १५०० वार्षिक १५ प्रतिशत रिटर्न आउने एसआइपीमा लगानी गर्नुभयो र यो क्रमले ४० वर्षसम्म निरन्तरता पायो भने तपाईले ६० वर्षको उमेर भएपछि एकमुष्ट ४ करोड ७१ लाख रुपैयाँ पाउनुहुनेछ । त्यसबेलासम्म तपाईको लगानी ७ लाख २० हजार रुपैयाँ मात्र हुनेछ । 

यदि मासिक १५०० रुपैयाँ नियमित रुपमा ४० वर्षसम्म जम्मा गर्नुभयो र वार्षिक रिटर्न औसतमा २० प्रतिशत पाउनुभयो भने तपाईले चिया खर्च जोगाएर ६० वर्षको उमेरमा एकमुष्ट २५ करोड ५२ लाख रुपैयाँभन्दा बढी रिटर्न पाउनुहुनेछ । 

यदि तपाई २० वर्षको हुनुहुन्छ र चिया तथा चुरोटमा लत बसेको छ भने त्यो बानी छाडेर दैनिक १०० का दरले मासिक ३ हजार रुपैयाँ एसआइपीमा लगानी गर्नुस् । ४० वर्षसम्म मासिक ३ हजारको दरले एसआइपीमा लगानी गर्दा वार्षिक औसत १५ प्रतिशतको दरले रिटर्न भयो भने ६० वर्षको उमेरमा तपाईसँग ९ करोड ४२ लाख रुपैयाँ हुनेछ। 

यदि मासिक ३ हजारको दरले ४० वर्षसम्म लगानी गर्दा एसआइपीको वार्षिक रिटर्न २० प्रतिशत रह्यो भने ६० वर्षपछि तपाईले एकमुष्ट ५१ करोड रुपैयाँ पाउनुहुनेछ । 

मासिक ३ हजार लगानी गर्दा तपाईले चिया चुरोट छाडेर ४० वर्षसम्म लगानी गरेको सावा रकम १४ लाख ४० हजार रुपैयाँ मात्र हो । 

चियाचुरोट छाडेर बेलैमा लगानी गरी बुढेसकालमा करोडपति हुने कि ? चिया चुरोटको लतमा फसेर भएको अलि अलि पैसा पनि सक्ने । छनौट तपाईकै ।