काठमाण्डौ । कोरोना महामारीबीच पनि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो व्यापार सन्तोषजनक ढंगले बढाएको देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले निक्षेप संकलन र कर्जा प्रवाहमा निकै आक्रामक देखिएको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ५० लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११.९५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफाबापत ३५ करोड ३५ लाख रुपैयाँ रहेको छ। गत वर्ष यस्तो मुनाफा ३१ करोड ५७ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ३४.१९ प्रतिशतले बढेर ६० करोड १५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ४४ करोड ८३ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाले ८ अर्ब ७७ करोड रुपैयाँ सापटी लिई १४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वष यही अवधिसम्म संस्थाले ५ अर्ब ७४ करोड निक्षेप संकलन गरी १० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा संस्थाको रिजर्भको आकार भने २६.३६ प्रतिशतले बढेर १ अर्ब १० करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ८७ करोड २९ लाख रुपैयाँ थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८०.३३ रुपैयाँबाट बढेर ८९.९३ रुपैयाँ पुगेको छ। पीई रेसियो २५.७४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ३२०.३९ रुपैयाँ रहेको छ।