काठमाण्डौ । साना किसान विकास बैंक लिमीटेड(साना किसान लघुवित्त वित्तीय संस्था)ले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ ।

यो माइक्रोफाइनान्स कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा खूद नाफा ३९.३८ प्रतिशतले बढाई २३ करोड ९१ लाखको उचाईमा पुर्याएको हो ।

व्यवसाय बिस्तारमा समेत कम्पनीको उत्साहप्रद प्रगति छ । यही कारण अघिल्लो वर्ष ३२ करोड १७ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ४२ करोड २१ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीले संचालन मुनाफा अघिल्लो वर्षको तुलनामा ४५.३५ प्रतिशतले बढाई ३७ करोड ५३ लाख पुर्याएको छ । 

यो अवधिमा साना किसानले १५ अर्ब ६६ करोड सापटी लिएर १७ अर्ब ३७ करोड बढी कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्षसम्म १ अर्ब १४ करोडमा सीमित रिजर्बकोषको आकार बढी १ अर्ब ४२ करोड पुगेको छ ।

कम्पनीले ०.०७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर ०.०४ प्रतिशतमा झारेको छ । 

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी बढेर ६०.८४ रुपैयाँको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५४.५६ रुपैयाँमा सीमित थियो । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २८०.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.५९ गुणा कायम भएको छ ।