काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाले ८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २४.८० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ५२.२२ प्रतिशतले बढेर १३ करोड ८२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको यस्तो मुनाफा ९ करोड १० लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा ५०.०५ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ११ करोड ६८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १७ करोड ७३ लाख रुपैयाँ भएको छ। 

समीक्षा अवधिमा संस्थाले २ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ८६ करोड रुपैयाँ सापटी लिई ३ अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ५६.२६ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ११ करोड ६५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १८ करोड २० लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाले खराब कर्जा (एनपीएल) मा सुधार गर्दै ३.८५ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल ४.९८ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५२.३४ रुपैयाँ, पीई रेसियो ३१.५३ गुणा, प्रतिसेयर नेटवर्थ १५४.५२ रुपैयाँ र तरलता अनुपात ११.५ प्रतिशत रहेको छ।