काठमाण्डौ । जनता बैंक नेपालले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अधिकांश सूचकमा छलाङ मारेको छ । 

बैंकले वितरणयोग्य मुनाफा ९५.१९ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २७ करोड १७ लाखमा सीमित फ्री प्रफिट बढेर यो वर्ष ५३ करोड माथि पुगेको हो । 

अघिल्लो वर्ष ३३ करोड ३५ लाखमा सीमित खूद नाफातर्फ ९०.२६ प्रतिशतको प्रगति गरी ६३ करोड ४६ लाखको उचाई चुमाएको बैंकले संचालन मुनाफातर्फ पनि ९०.२६ प्रतिशतकै फड्को मार्दै ४७ करोड ६५ लाखबाट ९० करोड ६७ लाख पुर्याएको छ ।

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ ४७.८६ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ७ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब ५८ करोडको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा जनता बैंक नेपालले ६८ अर्ब ४३ करोड निक्षेप संकलन गरी ६३ अर्ब ६५ करोड बढी कर्जा परिचालन गरेको छ । निक्षेप २९.६१ प्रतिशतले बढाएको बैंकले कर्जा बिस्तारलाई ३१.८७ प्रतिशतले बढाएको छ। 

अघिल्लो वर्ष ४२ करोड ७७ लाखमा सीमित सापटीलाई बढाएर यो वर्ष १ अर्ब ४४ करोड पुर्याएको देखिएको छ । 

बैंकले आफ्नो रिजर्बकोषलाई निकै मजबुत बनाउँदै लगेको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब १२ करोडमा सीमित कोषको आकारमा १६९.२१ प्रतिशतको बढोत्तरी गर्दै ३ अर्ब ३ करोडको बनाएको हो । 

बैंकले खराब कर्जा(एनपिएल)को अनुपातलाई समेत कुशलतापूर्वक घटाउँदै लगेको देखिन्छ । अघिल्लो वर्ष यही अवधिमा २.६५ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटाएर १.५३ प्रतिशतमा सीमित गरिएको छ । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८७ पैसा कायम भएको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ९०.२६ प्रतिशतले बढी हो । 

यो अवधिमा प्रतिसेयर नेटवर्थ १३७.९८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.६५ गुणा कायम भएको छ ।