काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो त्रैमासमा समेत एनआइसी एशिया बैंकले आफ्ना अधिकांश मुख्य सूचकहरुमा उत्साहजनक प्रगति गरेको छ । 

बैंकले आज पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । जसअनुसार अधिकांश मुख्य सूचकमा छलाङ मार्दै बैंक अगाडि बढिरहेको देखिएको छ । 

यस बैंकले आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जाको आकार रू. २७३.१० अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पुर्याउने सफलता समेत प्राप्त गरेको छ । 

समीक्षा अवधिमा बैंकले रू. १.७५ अर्ब खूद नाफा आर्जन भएको देखिएको छ, जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल(आरओई) २६.५५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ५९.६२ आर्जन गरेको छ ।स्व–पूँजीमा प्रतिफल र प्रति शेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ । 

बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई समीक्षा अवधिसम्ममा ०.५९ प्रतिशतमा सीमित राख्ने महत्वपूर्ण सफलता पाएको छ । 

समीक्षा अवधिमा मात्रै बैंकले २ लाखभन्दा बढी नयाँ ग्राहक थपिएको दाबी गरेको छ । योसँगै अब बैंकको कुल ग्राहक संख्या ३४ लाखभन्दा बढी पुगेको छ । 

यो अवधिसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरूभन्दा आफू अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित शाखा सञ्जाल बिस्तार गरिसकेको छ । 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।