काठमाण्डौ । शेयर कारोबारलाई अटोमेसन(पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली)मा लान गरिएको पहललाई टेवा पुर्याउने उद्देश्य सहित शेयर ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्फत सिधै भुक्तानी गर्ने व्यवस्था गरिएको छ । 

लगानीकर्ताहरुले शेयर खरीद गरे बापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी डब्ल्यू डब्ल्यू डट कनेक्ट आइपीएस डटकममा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैक खातामा सजिलै रकमान्तर गर्न सकिने नेपाल क्लियरिंग हाउसले जनाएको छ । 

हालसम्ममा यस प्रणालीमा १२ जना ब्रोकरहरु (ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९) आवद्ध भइसकेका छन् भने अन्य ब्रोकरहरुलाई पनि यस प्रणालीमा आवद्ध गराउने क्रम जारी रहेको जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेट फण्ड लोड जस्ता कारोबार गर्न सकिने व्यवस्था रहेकोमा,अब शेयर ब्रोकरलाई लगानीकर्ताले यसै प्रणाली मार्फत सिधै भुक्तानी गर्ने व्यवस्था शुरु गरेको हो । यसबाट लगानीकर्ताहरुले हाल अन्य माध्यमबाट भुक्तानी गर्दा बेहोर्दै आएको अनावश्यक झन्झटबाट राहत पाउनुको साथै समयकोे समेत बचत हुने अपेक्षा गरिएको छ । 

यो प्रणालीमा हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेकोमा हालसम्म ३४ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको बताइएको छ ।