काठमाण्डौ । सेलिब्रेटी बैंकर तथा नवील बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले देशको बैंकिङ उद्योगमा एनआइसी एशिया बैंकले मिराकल गरेर देखाएको बताएका छन् । 

नवीलले ल्याएको महिलामुखी निक्षेप तथा कर्जाका ३ नयाँ प्रडक्ट लञ्चको औपचारिक कार्यक्रमअघि केही संचारकर्मीसँग कुरा गर्दै सीइओ शाहले एनआइसी एशिया बैंकको मुक्तकण्ठले प्रशंसा गरेका हुन् । 

‘म राम्रोलाई राम्रो भन्ने मान्छे हुँ ।’ संचारकर्मीहरुसँग उनले भने–‘एनआइसी एशियाले साच्चिकै मिराकल(चमात्कार) गरेर देखाइदिएको छ ।’ 

पत्रकारहरुले ‘अब नवील बैंकको मुख्य प्रतिस्पर्धा कुन बैंकसँग हो ?’ भनी गरेको प्रश्नको जवाफमा उनले एनआइसी एशियाको प्रसंग ल्याएका थिए ।

‘तपाईहरुलाई नढाँटी भन्दा अबको हाम्रो मुख्य प्रतिस्पर्धा नै एनआइसी एशिया बैंकसँग हो ।’ उनले भने–‘एनआइसी एशियाले मैले समेत नसोचेको कुरा गरेर देखाइदियो । उसको प्रगति अनुकरणीय र प्रशंसनीय छ ।’ 

उनको विश्लेषण एनआइसी एशिया बैंकले पछिल्लो समय लिएको एसएमई र रिटेल बिजनेशतर्फको आक्रामक मुभतर्फ बढी केन्द्रीत देखिन्थ्यो । 

केही संचारकर्मीहरुले एनआइसी एशियाको शाखा बिस्तारको आक्रामक नीतिका कारण कस्ट अफ फण्ड पनि त उच्च नै छ नि त ? भनी सीइओ शाहको धारणा बुझ्न खोजेका थिए । त्यसको उत्तरमा शाहले भने–‘त्यही गल्ती हामीले गर्यौं । कस्ट अफ फण्डको चिन्ता लिएर बस्दा एनआइसी एशिया अगाडि बढेको कसैले पत्तै पाएनन् ।’ 

एउटा बैंकको प्रमुख कार्यकारी पदमा बसेको व्यक्तिले प्रतिस्पर्धी बैंककै रणनीति र प्रगतिको विषयमा मुक्तकण्ठले प्रशंसा गरेको यो विषय दुर्लभ हुनसक्छ । तर, सीइओ शाहको प्रष्ट बोल्ने बानीका कारण यो विश्लेषण बाहिर आएको हो ।

उनमा शाखा सञ्जालमा नवील प्रतिस्पर्धामा निकै पछाडि रहेका बैंकभन्दा पनि कमजोर अवस्थामा रहेकोमा हिनताबोध रहेको देखियो । ‘देशको टप बैंक भन्ने हाम्रो शाखा संख्या चाहि ७५ वटा मात्र छ भन्दा पनि मलाई त लाज हुन थालेको छ ।’ मनको कुरा खोल्दै उनले भने–‘एनआइसी एशियाले ३ सय पुर्याउन लागिसक्यो । कमजोर अवस्थाका अन्य बैंकको समेत १ सय भन्दा बढी पुगिसक्यो ।’ 

उनले एनआइसी एशियाले छोटो समयमा गरेको प्रगति र उनकै भाषामा चमात्कारको विषयलाई केश स्टडीको विषय बनाइनु सान्दर्भिक रहेको तर्क समेत पेश गरेका थिए । ‘एनआइसी एशियाको यो चमात्कार विश्वकै बैंकिङ उद्योगका लागि राम्रो केश स्टडी हुनसक्छ ।’–उनले थपे । 

नवील अब गरीबको पनि बैंक बन्ने !
औपचारिक कार्यक्रम र अनौपचारिक कुराकानीको क्रममा सीइओ शाहले नवील बैंक धनाढ्यहरुको मात्र बैंक बनेको र सर्वसाधारण तथा गरीबको बैंक सोचेजति हुन नसकेको तथ्य समेत स्वीकार गरे । 

‘अब नवील बैंक धनीको मात्र होइन, गरीबको पनि बैंक बन्नेछ ।’ उनले भने–‘ठूला र धनीको पनि बैंक हुन्छ, तर अब उनीहरुको मात्र चाहि हुँदैन।’ 

उनले आफ्नो बैंकले आउँदा दिनमा एसएमई र रिटेल बिजिनेशमा विशेष फोकस लगाउने घोषणा समेत गरे । उनको यो घोषणालाई आधार मानेर बिजशालाले उनलाई ‘तपाईहरु पनि अब एनआइसी एशियाकै पथमा हिँड्न लाग्नुभएको हो ?’ भन्ने प्रश्न गरेको थियो । उत्तरमा उनले भने–‘एसएमई र रिटेल विजिनेशमा केन्द्रीत हुने रणनीति एनआइसी एशिया वा कुनै बैंकको मात्र पेवा भन्ने हुँदैन । उसले पनि कतैबाट ल्याएको थियो होला । हामी त्यो बाटोमा जाँदा उसको बाटोमा गएको भन्ने हुँदैन । यो रणनीतिलाई अरुको होइन, नवीलकै रणनीति भन्नुपर्छ, यो हाम्रो हाइब्रीड नीति हो ।’ 

उनले नवील बैंकसँग ३४ वर्ष लामो अनुभव भएको उल्लेख गर्दै प्रतिस्पर्धी बैंकको तुलनामा यो आफूहरुको बलियो पक्ष भएको समेत दाबी गरे । 

उनले नवीलले आउँदा दिनमा पैसा होइन, सर्वसाधारणको विश्वास कमाउने ठोकुवा समेत गरे । ‘अब पैसा होइन, सर्वसाधारणको विश्वास कमाउन लागेका छौ ।’ उनले थपे–‘त्यही भएर हामीले सामान्य मानिसलाई समेत फोकस गरेर एकपछि अर्को गर्दै प्रडक्ट ल्याइरहेका छौ । आउँदा दिनमा यसमा अझ बढी फोकस हुन्छौ ।’ 

उनले आगामी दिनमा नवील बैंकले एसएमईमा निकै राम्रो ग्रोथ गर्ने रणनीति बनाएको समेत खुलाए । 

एक अध्ययनको हवाला दिंदै नारीहरुको रिपेमेन्ट रेट ९९ प्रतिशत रहेको उल्लेख गर्दै एसएमईअन्तर्गत पनि आगामी दिनमा बैंकले नारीलाई विशेष फोकस गर्ने योजना समेत उनले सुनाए । 

अर्को एक फरक प्रसंगमा उनले नवील बैंकको अब कुनै पनि बैंक वा वित्तीय संस्थासँग मर्जर हुनै नसक्ने दाबी समेत गरे । ‘कुनै बलिया र काठमाण्डौ उपत्यकामा राम्रो शाखा सञ्जाल भएका संस्था आए एक्वीजिसनका लागि सोच्न सकिएला ।’ उनले भने–‘तर यो पनि अहिले हाम्रो प्राथमिकतामा छैन । हामी केही फरक बाटो हिँड्न खोजिरहेका छौ ।’ 

पत्रकारहरुले त्यो फरक बाटो कस्तो हुन्छ ? भनी प्रश्न गरेका थिए । उत्तरमा उनले कुटनीतिक भाषामा यत्ति भने–‘त्यो पहाडको बाटो हुनेछ ।’