काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले अनुत्पादक क्षेत्रमा भइरहेको कर्जा लगानी रोक्न बैंकरहरुलाई निर्देशन दिएका छन्। 

आज अर्थ मन्त्रालय नेपाल राष्ट्र बैंकका अधिकारीहरु र बैंकरहरुसँग भएको छलफलमा अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन्। बैंकिङ क्षेत्रमा तरलता चाप बढ्दै गएकोप्रति इंगित गर्दै अर्थमन्त्री शर्माले अनुत्पादक क्षेत्रमा गरिने कर्जा लगानी रोक्न बैंकरहरुलाई निर्देशन दिए। उनले अत्यावश्यक नभएका वस्तुहरुको आयात रोक्ने पनि बताए। 

छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, दुईजना डेपुटी गभर्नर र प्रवक्ताको सहभागिता थियो। तर उनीहरुले केही पनि बोलेनन्। बैंकहरुलाई भने पालैपालो आफ्ना कुरा राख्न दिइएको थियो। 

बैंकरहरुले सीडी रेसियो टाइट हुँदै गएकोले केही लचकता अपनाइदिन आग्रह गरेका थिए। तरलतामा दबाब कम गर्न उनीहरुले अनौपचारिक (हुन्डी) मार्फत रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट आउने वातावरण बनाइदिन आग्रह गरेका थिए। ‘सरकारी खर्च फटाफट गरिदिन हामीले आग्रह गरेका छौँ’, एक बैंकका सीईओले बिजशालासँग भने, ‘हाल ५० प्रतिशतमात्रै निक्षेपका रुपमा लिइने स्थानीय तहको बजेटलाई १०० प्रतिशत बनाइदिन पनि हामीले आग्रह गरेका छौँ।’

बैंकरहरुको कुरा सुनेपछि अर्थमन्त्री शर्माबाट तरलता व्यवस्थापनका लागि अनौपचारिक क्षेत्रमा जाने कर्जालाई नियन्त्रण गर्दै साना तथा मझौला उद्यम तथा कृषि क्षेत्रमा जाने कर्जामा सीडी रेसियो सहज गरिदिने आश्वासन पाएको ती सीईओले बताए। ‘निक्षेपको स्रोत बढाउन सरकारले पहल गर्ने अर्थमन्त्रीले आश्वासन दिएका छन्’, ती सीईओले भने, ‘चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामा सीडी रेसियोमा केही न केही लचकता अपनाउन सरकार तयार रहेको पनि अर्थमन्त्रीबाट आश्वासन पाएका छौँ।’