काठमाण्डौ । निकै लामो कसरत र रस्साकस्सीपछि पनि नेपाली कांग्रेसको संस्थापन पक्षमा संयुक्त प्यानल बनाउने विषयमा कुनै सहमति कायम नभएपछि अन्ततः कृष्ण सिटौला नेतृत्वमा समेत अलग्गै प्यानल चुनावी मैदानमा आउने निश्चित भएको छ ।
संस्थापन पक्षका नेताहरु मंगलबार पनि दिनभरिजसो नै भागबण्डा मिलाउन कस्सिए पनि सिटौलाले सभापतिको दाबेदारी नछाडेका र अन्य अवसर तथा आश्वासनप्रति चासो नदेखाएका कारण उनले समेत प्यानल सहित नै चुनावी मैदानमा उत्रिने निश्चय गरेका हुन् ।
कांग्रेस उच्च स्रोतका अनुसार भोलि(बुधबार) एकघण्टाको फरकमा लहरै तीनवटै प्यानल घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । स्रोतका अनुसार दिउँसो २ बजे प्रज्ञा भवनमा पत्रकार सम्मेलनसहित शेरबहादुर देउवा नेतृत्वको प्यानलको औपचारिक घोषणा हुनेछ । यस्तै, दिउँसो ३ बजे कृष्ण सिटौला नेतृत्वको प्यानल घोषणा कार्यक्रम पुरानो बानेश्वरको अनुपम फूडल्याण्डमा राखिएको छ । आफूलाई संस्थापनको सच्चा नेतृत्व दाबी गर्दै आएका कार्यबाहक सभापति रामचन्द्र पौडेल नेतृत्वको प्यानलको घोषणा कार्यक्रम चाहि अपरान्ह ४ बजे सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ ।
कृष्ण सिटौला नेतृत्वमा बनेको प्यानललाई पार्टीभित्र नयाँ शक्ति तथा तेश्रो धारको रुपमा हेरिएको छ । उनको प्यानलबाट महासचिवको रुपमा युवा नेता गगन थापा प्रस्तुत हुँदैछन । बुधबार कोषाध्यक्षमा समेत उम्मेद्वारी प्रस्तुत हुने स्रोतको भनाई छ ।
यस्तै, देउवा प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसीको उम्मेद्वारी परिसकेको छ । केसीले मंगलबार नै रिपोटर्स क्लबमा एक कार्यक्रम माझ आफ्नो उम्मेद्वारीको औपचारिक घोषणा गरिसकेका छन् । कोषाध्यक्षको उम्मेद्वार पनि बुधबार नै प्रस्तुत हुने बताइएको छ ।
पौडेल नेतृत्वको प्यानलबाट महामन्त्रीमा वीपी पुत्र सशांक कोइरालाको उम्मेद्वारी प्रस्तुत हुने बताइएको छ । यो प्यानलबाट कोषाध्यक्षको उम्मेद्वार समेत प्रस्तुत हुनेछ ।
यस्तो छ निर्वाचन कार्यक्रम
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार मंगलबार दिउसो २ बजे मतदाताहरुको नामावली प्रकाशन भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएको नामावलीमा २८ सय ६८ जनाको नाम रहेको काँग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले बताए ।
धनुषा क्षेत्र नम्बर ५ बाहेक अन्य सवै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरु छानिएको केसीले जानकारी दिए । प्रकाशित नामावलीमा केही भ्रातृ तथा सुवेच्छुक संगठन र विदेशस्थित जनसम्पर्क समितिहरुबाट आउनु पर्ने नामावली समावेश नभएको केसीले बताए । उनीहरुको नामावली आउनेक्रममा रहेकाले निर्वाचनको अन्य प्रक्रिया सुरु हुनु भन्दा अगाडी नै उनीहरुको नामावाली समावेश गरिने सुनाए ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय भने यही फागुन २० गते विहान ८ बजे देखि बेलुकी ५ बजे सम्मलाई तय गरेको छ । उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन भोलीपल्ट फागुन २१ गते विहान ११ बजे हुने छ । प्रकाशित नामावलीमाथी संशोधनको समय २१ गते विहान ११ बजे देखि १ बजे सम्म तोकिएको छ, भने दावी विरोधका लागि २ बजे देखि ४ बजे सम्म समय कायम गरिएको छ । निर्वाचन समितिमा परेको दावी विरोध अनुसार निर्वाचन समितिले गर्नु पर्ने जाँचबुझ भने सोही दिन बेलुका ६ बजे सम्म सक्ने तयारी छ ।
उम्मेदवारी दर्ता गरेका उम्मेद्वारहरुलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते विहान ९ बजे देखि ११ विहान बजे सम्मको समय तोकेको छ । उम्मेदवारी फिर्तालिने समय सकिने वित्तिकै विहान ११ बजे नै निर्वाचन समितिले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गर्ने छ ।
काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा यी सुचनाहरु प्रकाशित हुने सचिव केसीले बताए । मतदान राष्ट्रिय सभागृहमा हुनेछ । केसीका अनुसार फागुन २३ गते विहान ८ बजे देखि अपराहन्न ४ बजे सम्म मतदानको समयावधि तोकिएको छ । मतदान सकिएपछि उमेद्वारहरु र निर्वाचन समितिको संयुक्त बैठकको निर्णय अनुसार मतगणनाको समय तोकिने निर्वाचन समितिले जनाएको छ । विद्युतीय यन्त्रबाट मतदानको व्यवस्था नहुने भएकाले मतगणनाका लागि केहीदिन लाग्न सक्ने केसीले अनुमान गरे । प्राविधिक समस्याका कारण विद्युतीय यन्त्र मार्फत मतदानको कार्यक्रम नहुने निर्णय भएको जानकारी दिए । काँग्रेसको १३औं महाधिवेशन फागुन २० गते देखि २३ गते सम्म काठमाडौंमा हुदैछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19