प्रश्न १ : कांग्रेस महाधिवेशनमा तपाईँ कुन पदमा लड्दै हुनुहुन्छ र उम्मेद्वारी केका लागि ?
नेपालमा रहेका मधेशी, दलित, जनजाति लगायतका सम्पूर्ण तह र तप्काका समुदायको समग्र हित तथा उनीहरूको माग सम्बोधनका लागि मैले १३ औं महाधिवेशनमा जनजातितर्फ नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । पर्याप्त स्रोत र साधनको बाबजूद हामी सधैं अभाव र समस्या झेलिरहन बाध्य छौं । हाम्रा ४० लाख स्वदेशी जनता विदेशी मुलुकमा रोजगारीका लागि गएका छन् र उनीहरूले पठाएको रेमिटान्सबाट चलेका हामी तिनै जनतालाई १८ घण्टा लोडसेडिङको उपहार दिइरहेका छौं । यस्ता समस्या समाधानका लागि अब भिजन भएको युवापुस्ता नेतृत्वमा पुग्न आवश्यक छ । यही कुरालाई मध्यनजर गर्दै मलाई साथीहरुले पूर्व मेचीदेखि पश्चिम महाकालीबाट तपाईँले नेतृत्व लिनुपर्छ भन्ने सुझाव दिएका आधारमा मैले उम्मेद्वारी दिने दिने निर्णय गरेको हुँ ।
प्रश्न २ : तपाईका चुनावी एजेण्डा के हुन् ?
मैले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा आर्थिक, नीतिगत एवं संस्थागत रुपमा पार्टी तथा देशलाई बलियो बनाउने मुख्य एजेण्डा लिएको छु । पुनर्निर्माणका लागि नयाँ अवधारणासहित एउटा ठोस कार्ययोजना तयार हुनुपर्छ भन्ने मेरो एजेण्डा हो । हामीले नेपालको लोकतान्त्रिक संविधानको निर्माण गरिसकेका छौं । त्यो संविधानको कार्यान्वयनका लागि पनि नेपाली काँग्रेसलाई सही गति र दिशामा डोहोर्याउन पनि मैले महत्वपूर्ण भूमिका खेल्ने एजेण्डालाई पनि समेटेको छु । त्यस्तै युवा स्वरोजगारका कुरा, पार्टीमा हाम्रो मान्छे नभई राम्रा मान्छेको खोजी गर्ने कुरा साथै आर्थिक नीति सम्बन्धी आवश्यक सुधार लगायतका विषयलाई पनि मैले आफ्नो एजेण्डामा समेटेको छु । नेपालमा अनुदान यत्ति मात्रामा आइरहेको छ कि त्यसको हामीले सदुपयोग गर्न नसक्दा हामी सधैभर अनुदानकै भरमा चल्ने नागरिक जस्ता भएका छौ । त्यसैले अनुदानको सही प्रयोगका लागि सही कार्ययोजना निर्माणमा सहयोग गर्न पनि मैले आफ्नो उम्मेद्वारी दिएको हुँ । हामी उर्जा उत्पादनमा सधैं फेज वाइज रूपमा अगाडि बढ्नुपर्ने हुन्छ । यो फेज यति समयमा सम्पन्न गरिसक्नुपर्ने भनेर हामीले पहिले नै स्पष्ट हुनु आवश्यक छ । विकासका लागि टाइमिङ तोक्नुपर्ने देखेको छु । हाम्रो ऐतिहासिक र प्राकृतिक रुपमा विश्वकै सुन्दर मुलुकमा युनिभर्सिटी नै खोलेर टुरिजमको विकास गर्न सकिन्छ । यस्तै कृषि क्रान्तिबिना मुलुकको समृद्धि संभव छैन । हामीले इजरायलमा जस्तै कृषि फार्ममा नै गएर कृषकहरूलाई उचित मात्रामा मूल्य दिई कृषि उत्पादन खरीद गर्ने व्यवस्था गर्न सकिन्छ । कृषि र कृषक प्रोत्साहित हुने अर्थनीति अँगाल्न सक्नुपर्छ, अनि मात्र आर्थिक क्रान्ति संभव छ ।
अर्काेतर्फ राजनीतिलाई पेशा होइन भन्ने कुरा स्थापित गराउनुछ । हामीले जतिसुकै आदर्शको कुरा गरे पनि राजनीतिलाई पेशा बनाइयो भने नेपाल जस्तो मुलुकमा भ्रष्टाचार यसै पनि मौलाउने पक्का छ । त्यसैले राजनीति पेशा होईन, यो त सामाजिक न्यायको आधार मात्रै हो भन्ने आदर्श स्थापित गराउन पनि मैले चाहेको छु । यो विषयमा युवाहरु बढी सचेत हुन आवश्यक देख्छु । गर्न सक्यौं भने नेपाललाई धेरै छोटो समयमा विश्वकै धनी देश बनाउनसक्ने भिजन मसँग छ । कम्तीमा १० वर्षे प्याकेज बनाएर अगाडि बढ्ने हो भने नेपाललाई कहाँबाट कहाँ पुर्याउन सकिन्छ ।
प्रश्न ३ : तपाइँका जितका आधार के के हुन् ?
सो पदमा मैले जित्ने आधार भनेको मेरो डायलग र बहस गर्न सक्ने क्षमता, युवा, जनजाति, मधेशी लगायत सबैको आवाजलाई शीर्ष तहको टेबुलमा लगेर प्रस्तुत गर्नसक्ने क्षमता र हिजोका दिनमा उत्पीडितहरुको हरेक मुद्दामा मैले गरेको सहयोग नै मेरो जीतको आधार हो । साथै मेरो इमान्दारिता र सहयोगी चरित्र पनि मेरो जीतको आधार हो । म राजनीतिलाई पेशा बनाउने मान्छे होइन, यो पनि मेरो जितको आधार हो । युवा हुँ, प्रशस्त भिजन छ, ती भिजन कार्यान्वयन गर्ने मौका पाएँ भने देशलाई समृद्धिको बाटोमा डोहोर्याउनसक्ने क्षमता पनि छ, यही नै मेरो जितको आधार हो ।
प्रश्न ४ : अन्तमा मतदातालाई कुनै सन्देश छ ?
अन्तमा म मेरा मतदातालाई के भन्न चाहन्छु भने हामी रक्तदान जीवनदान भन्छौं, अन्य दानलाई पुण्य मिल्ने आधार भनेर संवेदनशील बन्छौं । म त के भन्छु भने मतदान र कन्यादान जस्तो ठूलो र संवेदनशील दान अरू कुनै पनि छैन । मतदान गर्ने बेलामा हामी संवेदनशील बनेनौं भने हामीले मुलुकलाई नै क्षतविक्षत पाउन सक्छौं, मुलुकको भविष्य नै डामाडोल हुन्छ । कन्यादान गर्ने बेलामा पनि संवेदनशील बनेनौं भने कसैको जीवन डामाडोल हुन्छ । कन्यादानको बेलामा राम्रो दुलाहा परेन भने हाम्रा चेलीबेटीको घर बिग्रिन्छ भने मतदानको बेलामा कार्यकर्ताले सही व्यक्ति चुनेनन् भने पार्टी बिग्रन्छ, ध्वस्त हुन्छ, यसले देश नै अधोगतितर्फ लाग्छ । त्यसैले मतदान गर्ने बेलामा पनि राम्रो भिजन, योजना भएका उत्साहित र निश्कलंकहरुलाई छनौट अगरेर अगाडि बढ्नुहोस् भन्ने मेरो विनम्र अनुरोध हो । देशका लागि केही गर्नसक्ने कमल तामांगलाई पनि एक भोट दिन नभूल्नुहोला भन्ने मेरो अनुरोध छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19