काठमाण्डौ । देशकै ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह केही अस्तव्यस्त र खल्लो बनेको छ । उद्घाटन समारोहका उद्घोषक रहेका पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले तालिका नमिलाई कार्यक्रम संचालन गर्दा पटक–पटक कार्यकर्ताको विरोधको हुटिङ व्यहोर्नुपर्यो । तिवारीले कार्यक्रम संचालन तालिका अस्तव्यस्त बनाएपछि शीर्ष नेताहरु समेत रिसाए ।
मुख्यसचिव तिवारीले कार्यक्रमको सुरुवातदेखि नै सानातिना कमजोरी गरिरहेका थिए । ती कमजोरीलाई खासै वास्ता नगरेका कार्यकर्ताले कार्यक्रमको सुरुवातमा राष्ट्रगान गाउनुपर्नेमा त्यो कुरा बिर्सिएपछि चर्को आलोचना गरेका थिए । पटक–पटकको हुटिङपछि राष्ट्रिय गान कार्यक्रम सुरु भएर केही नेताले भाषण गरेपछि मात्र राखिएको थियो । कार्यक्रमको बीचमा राष्ट्रगानका लागि आ–आफ्नो ठाउँबाट उठिदिन तिवारीले अनुरोध गर्दा कार्यकर्ताले हुटिङ गर्दै विरोध जनाएका थिए ।

कार्यक्रम संचालनको क्रममा उनले आफ्नै पार्टीका दिवंगत नेता तथा संस्थापक वीपी कोइरालाको तस्विरमा माल्यार्पण गर्ने कार्यक्रम समेत छुटाएका थिए । निकै पछि मात्रै कार्यकर्ताबाट हुटिङ आएपछि उनले कार्यक्रमको अध्यक्षता गरिरहेका कार्यबाहक सभापति रामचन्द्र पौडेल र पार्टीका अन्य शीर्ष नेतालाई माल्यार्पण गरिदिन अनुरोध गरेका थिए । यतिमा मात्र सीमित भएन तिवारीको कमजोरी कार्यक्रमको सुरुवातमै प्रस्तुत गर्नुपर्ने स्वागत नृत्य समेत बिहारका मुख्यमन्त्री नीतिश कुमारको भाषण सकिएपछि मात्र प्रस्तुत गरियो । स्वागत नृत्य भन्दै धेरै नेताले बोलेपछि कलाकारलाई ऋषिकेशले बोलाउँदा समेत कार्यकर्ता पंक्तिबाट विरोध स्वरुप हुटिङ आएको थियो ।
यसरी भयो उद्घाटन

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको औपचारिक सुरुवात कार्यवाहक सभापति रामचन्द्र पौडेलले दिउँसो दुई बज्न दुई मिनेट बाँकी रहँदा पानसमा बत्ती बालेर गरेका थिए । खुल्लामञ्चमा आयोजना गरिएको महाधिवेशनमा उदघाटन समारोहमा अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीहरु विजयकुमार गच्छदार, चित्रबहादुर केसी, सीपी मैनालीलगायत सहभागी रहे । उद्घाटन समारोहमा भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमार उपस्थित छन् । भारतका विभिन्न दलका नेताहरु पनि अतिथिका रुपमा सहभागी छन् । यसैगरी, बंगलादेश, क्याम्बोडिया, पाकिस्तान लगायतका मुलुकबाट पनि महाधिवेशनमा शुभकामना दिन नेताहरु आएका छन् । उदघाटन समारोहमा स्वागत मन्तव्य काठमाडौं जिल्ला कांग्रेसका सभापति सबुज बानियाँले व्यक्त गरेका थिए ।
कस्ले के भन्यो ?

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, एमाले र अन्य दल मिलेर आर्थिक उन्नतितर्फ लाग्नुपर्नेमा जोड दिए । उनले कांग्रेसको महाधिवेशनबाट आर्थिक विकासको भरपर्दो निर्णय हुनसक्ने विश्वास समेत व्यक्त गरे । महाधिवेशनबाट कांग्रेस पत्यारिलो र भरपर्दो पार्टी बन्ने समेत उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले विदेशी पाहुनाहरुलाई धन्यवाद दिंदै नेपालमा प्रजातान्त्रिक प्रक्रियाबाट हुने सबैखालका परिवर्तनहरुलाई प्रजातान्त्रिक ढंगबाटै विदेशीहरुको साथ र सहयोग रहनुपर्नेमा जोड दिएका थिए । बहुसांस्कृति, बहुधार्मिक, बहुजातीय देशको विकास सबै मिलेर गर्नुपर्नेमा आगामी दिनमा समेत कांग्रेसले सकारात्मक सहयोग गर्ने उनको विश्वास थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले नेपाल र भारतबीचको सम्बन्धका विषयमा धेरै भ्रम रहेकाले त्यसलाई चिर्नुपर्नेमा जोड दिए । उनले नेपाल र भारतबीचको सम्बन्ध अटुट रहेको उल्लेख गर्दै आगामी दिनमा थप सौहार्द सम्बन्धन बनाउनुपर्नेमा जोड दिए । उनले नेपालका राजनीतिक दलहरुबीचको आपसी सद्भाव र सहयोग प्रेरक रहेको उल्लेख गर्दै भने–‘एउटा पार्टीको महाधिवेशनमा अरु पार्टीका शीर्ष नेता आउनु र साथ दिनु साच्चिकै राम्रो पक्ष हो । यो प्रजातन्त्रभित्रको स्वस्थ शैली पनि हो । नेपालको यो शैलीबाट हामीले समेत पाठ सिक्नुपर्ने रहेछ ।’
यसैबीच, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका पोलिटब्युरो सदस्य जोगेन्द्र शर्माले भारतीय नाकाबन्दीको विरोध गरेका छन् । ‘हाम्रो पार्टी नेपाली जनताको दुःख र यातनाका साथमा छ,’ भारतीय नेता शर्माले खुल्लामञ्चबाट भने,’हामीले नाकाबन्दीका विषयमा संसद र सडकबाट संघर्ष गर्यौं, सरकारले नेपालमै आन्दोलन भएका कारण ब्लकेड भएको जवाफ दियो । त्यसपछि हामीले संसदीय टोली नेपाल पठाउनुपर्ने माग गर्यौं । सच्चाइ के हो ? यदि भारतले नाकाबन्दी गरेको हो भने, दोस्रो देशबाट नाका खोल्नुपर्छ भन्ने माग राख्यौं ।’ शर्माले आफ्नै सरकारले लगाएको नाकाबन्दीको विरोध गर्दा खुल्लामञ्चमा उपस्थित कांग्रेस कार्यकर्ताले हुटिङ गर्दै तालीको पर्रा छुटाएका थिए । शर्माले भारतमा पनि साम्प्रदायिक तत्वहरुले हिन्दुराष्ट्र चाहिन्छ भन्दै ‘खून खराबा’ गरिरहेको बताए । त्यही तत्वले नेपालमा समेत हिन्दू राष्टको नाममा खेल्न खोजिरहेको दाबी गरे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19