काठमाण्डौ । देश कांग्रेसमय छ अहिले । कांग्रेसको १३ औं महाकुम्भका कारण राजधानी त झनै बढी गुल्जार बनेको छ । कांग्रेसका झण्डा, प्रचार सामाग्रीले मात्र होइन, उम्मेद्वारहरुको दौडधूपले समेत काठमाण्डौको रौनक बढाएको छ ।

बग्रेल्ती कार्यक्रम, भेलामा केन्द्रीय नेता बन्ने चाहना राख्नेहरुलाई भ्याई नभ्याई छ । अझ यो पटक चारवटा प्यानल नै निर्वाचनका लागि तयार भएर प्रस्तुत भएपछि कार्यकर्तामा अझ धेरै रौनक छाएको छ । चारवटै प्यानलका नेताहरु महाधिवेशन प्रतिनिधि बास बसेका होटल होटल धाउन थालेपछि कतिपयलाई दिक्क समेत लागेको पाइएको छ । 
 

यही मेसोमा बुधबार विभिन्न कार्यक्रम भए । तीमध्ये संस्थापन पक्षको उम्मेद्वारी घोषणा चर्चायोग्य बन्यो । संस्थापन पक्षले कार्यबाहक सभापति रामचन्द्र पौडेल नेतृत्वमा मुख्य पदाधिकारीहरुको सगौरव घोषणा गर्यो पार्टी केन्द्रीय कार्यालय सानेपामा । कार्यक्रम चलिरहेको थियो । रामचन्द्र पौडेल नेतृत्वको टिमको महामन्त्रीको रुपमा वीपी पुत्र सशांक कोइरालालाई महामन्त्री प्रकाशमान सिंहले प्रस्ताव गरे । उनको प्रस्तावमा डा. रामशरण महत समर्थन गर्न ड्यासमा उक्लिए । उनी बोल्दै गर्दा जब सशांकको व्यक्तित्वको बिषयमा बोल्न थाले, तब झ्याप्प लाइन गयो । दुर्भाग्य, देशकै ठूलो पार्टी नेपाली कांग्रेसले संस्थापन पक्षको उम्मेद्वारी घोषणाजस्तो महत्वपूर्ण कार्यक्रममा समेत जेनेरेटरको वैकल्पिक व्यवस्था गरेको रहेनछ । बत्ती गएकै कारण यस्तो महत्वपूर्ण कार्यक्रम १५ मिनेट भन्दा बढी स्थगित भयो, रोकियो । 
 

केहीअघि उद्घोषकले विश्वकै उत्कृष्ट अर्थमन्त्री भन्दै पं्रशसा गरेका कारण गजक्क परेर मञ्चमा उक्लिएका डा. महतले बोल्दै गर्दा लोडसेडिंगको मार खेप्नुपर्यो । भीडभाडमा कार्यकर्ता भन्दै थिए–‘ उत्कृष्ट अर्थमन्त्रीको पदक त पाए हाम्रा नेता जीले, तर बहुदलपछि सबैभन्दा धेरै अर्थमन्त्री भएका उनकै अदूरदर्शी नीतिका कारण नेपालले आज यस्तो उर्जा संकट भोग्नु परिरहेको छ, उनले पदक पाए नेपाली जनताले पीडा ।’  
 

सो कार्यक्रममा सभापति पदका उम्मेद्वार रामचन्द्र पौडेल, महामन्त्रीका उम्मेद्वार सशांक कोइराला लगायतले समेत सम्बोधन गरेका थिए । संस्थापनको उम्मेद्वारी घोषणा कार्यक्रममा कार्यकर्ताहरुको थामिनसक्नु घूइँचो लागेको थियो । सानेपास्थित पार्टी कार्यालय परिसर भरिभराउ थियो । उम्मेद्वारी घोषणा हल अस्तव्यस्त थियो भने अधिक मान्छे पार्टी कार्यालय परिसरमा साउण्डबक्सबाट नेताको कुरा सुनिरहेका देखिन्थे ।