काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो प्रदर्शनीस्थल भृकुटीमण्डपमा बाह्रै महिना मेला महोत्सवहरु आयोजना भइरहन्छन । यस्ता कार्यक्रमहरुको प्रचार सामाग्रीले त्यहाँका रुख, बोटविरुवा, भित्ता केही पनि बाँकी रहदैनन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको रन्को यस्तो ढंगले लागेको देखियो, उम्मेद्वारको प्रचार सामाग्रीले भृकुटीमण्डप कांग्रेसमय भएको छ । रुख, बोटबिरुवाको हाँगाबिंगा, गेट मात्र होइन, आसपासका भित्ता समेत केही बाँकी छैनन् । जहीँतही उम्मेद्वारहरुको भोट मागिएको फ्लेक्सले भृकुटीमण्डप क्षेत्र पुरिएको छ । यति धेरै प्रचार सामाग्री यहाँ आयोजना हुने कुनै पनि मेला महोत्सवमा देखिएको थिएन ।

नेताहरुबीच ठूलो फ्लेक्स लर्काउने होडबाजी नै चलेको छ यो क्षेत्रमा । कतिपयले साना फ्लेक्स लहरै चौतर्फी लर्काएका छन् भने कतिपयले चाहि सबैको आँखा पर्ने ठाउँमा घर जत्रा ठूला फ्लेक्स समेत लर्काइदिएका छन् । हुँदा हुँदा विद्यार्थी राजनीतिबाट कांग्रेसमा नेता बनेका प्रदीप पौडेल र अर्का एक नेताले त भृकुटीमण्डपको प्रदर्शनीस्थलको बोर्ड नै छोप्ने गरी आफ्नो फ्लेक्स लर्काएका छन् । प्रदर्शनीस्थित बाहिरतर्फको पर्यटन बोर्डतर्फको पर्खाल तथा त्यसको विपरीत दिशाको पर्खालमा समेत कांग्रेस नेताको प्रचार सामाग्रीले भरिभराउ बनाइएको छ ।

भृकुटीमण्डपको प्रदर्शनीस्थल प्रवेशको मुख्य द्वारबाट पुतलीसडक क्षेत्रतर्फको बाटोका पर्खाल समेत कुनै खालि छैनन् । हुँदा हुँदा ठाउँ नपाउनेहरुले भृकुटीमण्डमा पार्किङमा राखिएका चार चक्के गाडीलाई समेत छाडेका छैनन् । त्यस्ता गाडीहरुमा समेत प्रचार सामाग्री प्रिन्ट भएको साइज साइजका फ्लेक्स टाँगिएको छ । यसअलावा भृकुटीमण्डप क्षेत्रका चिया तथा चमेना पसल अगाडि, रिपोटर्स क्लब आसपासको क्षेत्रमा समेत बाक्लै गरी फ्लेक्सको झिलीमिली देख्न सकिन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19