आइतबार भृकुटीमण्डपस्थित सडकमा देउवाको पक्षमा बनाइएको लोकगीतमा नाच्दै महाधिवेशन प्रतिनिधिहरु ।
काठमाण्डौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मतदान कार्यक्रम सकिएर सभापतिको मत गणना थालनीको सुरसार चलिरहँदा भारतीय गुप्तचरहरुबीच चलेको छलफलबाट निस्किएको चाखलाग्दो निश्कर्षको बिषय प्राप्त भएको छ ।
भारतीय दूताबासमा भेला भएका गुप्तचरहरुले दिनभरिको गतिविधिको अध्ययन, मतदाताहरुको मनोविज्ञान, शनिवार राति राजधानीको विभिन्न होटलमा भएका चलखेल लगायतका आधारहरुलाई प्रस्तुत गर्दै शेरबहादुर देउवाले पहिलो चरणमै ५१ प्रतिशत मत ल्याएर चुनाव जित्ने निश्कर्ष निकालेका छन् । स्रोतका अनुसार देउवाको जित सुनिश्चित भए पनि लामो समयदेखि नेपाली कांग्रेसको मियोको रुपमा रहेको कोइराला परिवारबाट यसपटक निर्वाचन लडेकामध्ये अधिकांशले पराजय व्यहोर्नुपर्ने अवस्था समेत रहेको उनीहरुको निश्कर्ष छ । गुप्तचरहरुले कांग्रेस नेतृ सुजता कोइरालादेखि महामन्त्रीको उम्मेद्वार सशांक कोइरालाले समेत हार्नसक्ने निश्कर्ष निकालेका छन् । यसैगरी, कांग्रेसको संस्थापन पक्षका केही प्रभावशाली नेताहरुले समेत अपत्यारिलो ढंगले यसपटक चुनाव हार्ने अवस्था रहेको गुप्तचरहरुको निश्कर्ष रहेको बुझिएको छ । 'छलफलमा अधिकांशले पूर्व अर्थमन्त्री डा. रामशरण महत जस्ता राजनीतिक खेलाडीले समेत चुनावी हार्ने निश्कर्ष निकालेका छन् ।' स्रोतले भन्यो-'अबको कांग्रेस केन्द्रीय समितिमा देउवा टिमको निकै ठूलो प्रभाव रहने गरी निर्वाचनको परिणाम आउने समेत निश्कर्ष निस्किएको छ ।'
छलफलमा सहभागी कतिपय गुप्तचरहरुले त अबको केन्द्रीय समितिमा देउवा पक्षको दुई तिहाई स्थान आउने र संस्थापन पक्षले एकतिहाईमै चित्त बुझाउनुपर्ने अवस्था समेत आउनसक्ने विश्लेषण गरेको छ ।
भारतीय खुफिया एजेन्सीहरुले छलफल गरी सोही किसिमको प्रारम्भिक रिपोर्ट दिल्लीस्थित साउथ ब्लकमा पेश गरेका समेत बुझिएको छ ।
स्रोतका अनुसार नेपाली कांग्रेसको चुनावकै लागि भनेर दिल्लीबाट २० भारतीय गुप्तचरहरुलाई नेपाल पठाइएको थियो । यो टोलीले भित्री रुपमा देउवा समूहलाई सहयोग गरेको थियो । मधेशका प्रतिनिधिहरुलाई धेरै हदसम्म देउवा पक्षमा पार्ने भूमिका समेत यही टिमको रहेको स्रोतको दाबी छ । यो टिमले उपहारको रुपमा देउवालाई २ करोड रकम समेत दिएको बुझिएको छ ।
पैसाको खोलो, प्रतिनिधि मालामाल
खुफिया एजेन्सी निकट स्रोतले यो पटकको कांग्रेस महाधिवेशनमा देउवा पक्षले मात्र २० करोड भन्दा बढी खर्च गरेको दाबी गरेको छ । स्रोतका अनुसार देउवा पक्षले शनिवार रातभरिमा धेरै प्रतिनिधिहरुलाई खरीद गरेको थियो । काठमाण्डौको होटल अन्नपूर्ण, जैन होटल तथा देउवाको निवासमा देउवा पत्नी आरजू र सालो भूषण समेतको अगुवाईमा रकम बाँडिएको थियो । 'महाधिवेशन प्रतिनिधिलाई अनुहार र पहुँच हेरेर ५० हजारदेखि १ लाखसम्म बाँडिएको थियो ।' स्रोतले भन्यो-'आफू निकटका जिल्ला सभापतिहरुलाई चाहि माहौल सिर्जना गर्न भन्दै ३ लाखको दरले रकम बाँडियो ।' स्रोतका अनुसार धेरै प्रतिनिधिहरुलाई भेला पारी भोटको ग्यारेण्टीसहित पुगेका नेताहरुले देउवा समूहबाट राम्रै रकम प्राप्त गरेका छन् । त्यसो त रामचन्द्र पौडेलले समेत सकेसम्म खर्च गरेको स्रोतको दाबी छ । तर, भारतीय पक्षको चाहना देउवा समूहलाई जसरी भए पनि जिताउने रहेको, सोही अनुसार देउवालाई निकै ठूलो रकम सहयोग गएको, नेपालकै ठूला व्यापारीले पनि देउवाको घरमै पुगेर ठूलो रकम सहयोग गरेपछि देउवाले मन खोलेरै प्रतिनिधिहरुलाई रकम बाँडेका स्रोतले दाबी गरेको छ ।
देउवाले सुजातालाई नगनेको रहस्योद्घाटन
यसपटक निकै राम्रो मतका साथ पार्टी सभापतिमा जित्ने सर्वत्र आँकलन गरिएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले चुनावी दौरान र समीकरण बनाउने क्रममा समेत कांग्रेस नेतृ सुजता कोइरालालाई रेसपोन्स नै नगरेको रहस्य समेत उद्घाटित भएको छ । सुजाता कोइरालालाई आफ्नै परिवारमा एक्लो बनाइएको थियो । यो देखेर सुजाताका एक सहयोगीले देउवा समूहसँग आफूले कुरा गर्ने र देउवासँग मिलेर अगाडि बढ्न सुझाव दिएका थिए । ती सहयोगीको कुरामा सुजाताले पनि सहमति जनाई दूतको रुपमा देउवालाई भेट्न पठाएकी थिइन । सुजाता देउवा समूहमा आउन तयार भएकी कुरा ती दूतले भन्दा सुरुमा सुजाता आउँछिन र, होइन होला भनी प्रश्न गरेका थिए । तर भरपर्दा ती सहयोगीले आफूले ल्याउने भनेपछि सम्झौताको विषयमा चर्चा भएको थियो । सो क्रममा सुजाताले पठाएको सन्देश सुनाउँदै ती दूतले देउवालाई भनेका थिए–‘उनलाई तपाईले जितेपछि विधान संसोधन गरेरै भए पनि उपसभापति दिनुपर्छ ।’ उपसभापति नै मागेपछि भने देउवा केही हच्किएका थिए र भनेका थिए–‘म साथीहरुसँग सल्लाह गरौंला । मनोनीत महामन्त्रीसम्म हो भने चाहि दिन सकिन्छ । तर, यो विषय पनि मैले मात्र भनेर हुन्न ।’ त्यसपछि देउवाले २ दिनपछि आफूले खबर गर्ने भनी विश्वास दिलाउँदै ती प्रतिनिधिलाई पठाएका थिए । ती प्रतिनिधिले समेत महामन्त्री नै भए पनि देउवा पक्षमै जान भनेर सुजातालाई तयार पारिसकेका थिए । सुजाता पनि देउवाको खबर आउला भन्ने व्यग्र प्रतिक्षामा थिइन । तर देउवाले २ दिन त के ४ दिन बित्दा समेत सुजातालाई कुनै रेसपोन्स नै गरेनन् र सुजाताले आफ्नो स्थान सुरक्षित गर्न हतार हतार त्यसको भोलिपल्टै सभापतिमा उम्मेद्वारी दिएको घोषणा गरिन् । तर उनको घोषणा २४ घण्टा पनि टिक्न सकेन । विभिन्न सहयोगी र टिमको साथमा सभापतिमा उम्मेद्वारी दिएकी सुजाताले अन्तिम अवस्थामा रामचन्द्र पौडेललाई समर्थन गर्ने क्रममा चाहि आफ्ना सबै साथीहरुलाई थाहै दिइनन् । फलस्वरुप, चुनावको बेला सुजातालाई देउवाले त रेसपोन्स गरेनन् गरेनन्, सुजाताका लागि ज्यान दिने शुभेच्छुकहरुको समेत उनले मन दुखाइन् र निकै धराप अवस्थामा चुनाव लड्नुपर्ने अवस्था सिर्जना गरिन् । सुजाताले उम्मेद्वारी फिर्ता लिने क्रममा सल्लाह नै नगरेपछि देउवासम्म कुरा मिलाउन पुगेका ती दूत र उनी नेतृत्वको टिम नै चुनावमा देउवालाई भोट माग्दै हिँडेको थियो । स्मरण रहोस्, धेरैले सुजाताले चुनाव हार्नसक्ने आँकलन गरिरहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19