प्रश्न १ : तपाई नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा कुन पदका लागि र किन उम्मेद्वारी दिंदै हुनुहुन्छ ?
म नेपाली काँग्रेसले शेरबहादुर देउवाको पालामा स्थापना गरेको समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तद्वारा स्थापना गरिएको जनजाति कोटा अन्तर्गत्को केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेको छु । बामपन्थी दलका नेताहरूले जनजाति दलका नेता तथा कार्यकर्तामा नेपाली काँग्रेस जनजातिका लागि उपयुक्त पार्टी होइन भन्ने भ्रम फैलाएकोमा त्यसलाई चिर्दै जनजातिका लागि नेपाली काँग्रेस जस्तो उपयुक्त पार्टी अर्काे कुनै हुनैसक्दैन भन्ने स्पष्ट सन्देश दिनका लागि मैले उम्मेद्वारी दिएको हुँ । मैले नेपाली काँग्रेस भित्र रहेका ३७ प्रतिशत जनजाति नेताहरूलाई एकजुट गराएर एउटै सिक्कामा समेट्नका लागि पनि उम्मेदवारी दिएको हुँ । नेपाली काँग्रेसका सबै जनजातिलाई एक जुट गराएर हाम्रो पार्टी र राम्रो पार्टी बनाउन पनि मैले आफ्नो उम्मेदवारी दिएको हुँ । 

 

प्रश्न २ : तपाईको मूल चुनावी एजेण्डा चाहिँ के हो ?
केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिंदै गर्दा मेरो मूलएजेण्डा भनेकै जनजातिको पक्षमा काम गर्ने हो । अर्कोतर्फ जनजातिको हितमा काम गर्ने पार्टी नेपाली कांग्रेसको अर्को कुनै विकल्प छैन भन्ने पनि मेरो स्पष्ट धारणा हो । बामपन्थीहरू मीठा कुरा गर्छन्, तर काम गर्दैनन् । मुखले अधिकार दिनका लागि बामपन्थीहरू अगाडि रहे पनि हामी अधिकार दिनका लागि अगाडि छौं भन्ने अवस्था सिर्जना गर्नुछ । आम जनजाति समुदायमा नेपाली काँग्रेसप्रति आकर्षित गर्दै बामपन्थीले जस्तै लड्ने बेलामा जनजातिलाई पठाउने, तर अधिकार आफै लिने प्रवृत्ति नेपाली काँग्रेसमा छैन भन्ने सन्देश पनि दिनु मेरो मुख्य एजेण्डा हो । 

 

प्रश्न ३ : जित्ने आधार के–के हो ?
मेरो पहिलेदेखिकै नेपाली काँग्रेसप्रतिको समर्पण र त्याग नै पहिलो जीतको आधार हो । किनभने मैले पहिलेदेखि नै नेपाली काँग्रेसमा अनवरत त्याग र समर्पण गरेको छु ।  मेरो राजनीतिक यात्रा नेविसंघबाट सुरु भएको थियो । मैले नेविसंघ पनि वीपी विचारधाराको एउटा अंग भएको पाएँ । त्यसपछि मैले गाविस अध्यक्ष हुँदै २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा अत्यधिक मतले निर्वाचन जित्न सफल भए । यो के कारण थियो भने मैले आम मानिसमा नेपाली काँग्रेसको निष्ठा र उसको लोकतान्त्रिक चरित्रको बारेमा छर्लङ्ग गराएको थिएँ । त्यसैगरी म आर्थिक एजेण्डा बोकेर हिँडेको नेता भएकोले पनि मेरो जित्ने आधार स्पष्ट छ । आर्थिक क्रान्तिबिना मुलुकको समृद्धि सम्भव छैन भन्ने विषयलाई पनि मैले एजेण्डामा समेटेको छु । 

 

प्रश्न ४ : आर्थिक क्रान्ति कसरी सम्भव छ ? मतदातालाई कुनै सन्देश ?
आर्थिक क्रान्तिका लागि मैले टेक्नोलोजीलाई बढी महत्व दिनुपर्ने विषयलाई पटक पटक संसद्मा पनि उठाउँदै आएको छु । हामीले विभिन्न मुलुकको कुरा गर्न सक्छौं, टेक्नोलोजीले कति कठीन काम पनि सहजै सम्पन्न भएका छन् । त्यसैले हामीले अब कुरा गरेर होईन विज्ञान र प्रविधिको आडमा रहेर आर्थिक क्रान्तिलार्इै सम्भव तुल्याउनुपर्छ । हामी हेरौं न पहिले हामीभन्दा कति कमजोर इजरायलले कृषिमा कति धेरै प्रगति गरिसकेको छ ? त्यसैले म त के भन्छु भने टुरिजम र जलविद्युतलाई विकासको प्राथमिकतामा राख्न आवश्यक छ । हाम्रो चारतारे झण्डाको पहिलो तारा राजनीतिक क्रान्ति सकिएको छ । अब हामीले दोस्रो आर्थिक क्रान्तिको तारालाई अघि बढाएर तारा जस्तै चम्किनु छ । म आम मतदातालाई के भन्न चाहन्छु भने नेतृत्व जहिले पनि युवाको हातमा भएमा मात्रै युगअनुसार पार्टीले पनि गति लिनसक्छ । त्यसैले म पनि एउटा युवा भएको हिसाबले मलाई जनजातितर्फको केन्द्रीय सदस्यमा निर्वाचित गराएर युवा जोशको सम्मान गर्नुहोस् भन्न चाहन्छु ।