काठमाण्डौ । रिलायवल डेभलपमेन्ट बैंकको १० औं साधारणसभाबाट पारित सतप्रतिशत हकप्रदको प्रस्तावलाई बुधबार सम्पन्न ११ औं साधारणसभाले खारेज गरिदिएको छ । 

ग्लोबल आइएमई बैंकसँग एक्वीजिसनको प्रक्रियामा गएपछि यो बैंकले सतप्रतिशत हकप्रद नदिने रणनीति लिएको थियो । सो रणनीतिको विरोधमा लगानीकर्ताहरुले धितोपत्र बोर्ड, राष्टबैंक गुहारे पनि ११ औं वार्षिक साधारणसभामा बैंक संचालक तथा उच्च व्यवस्थापनले सतप्रतिशत हकप्रद खारेजी र आगामी दिनका सहज अवस्थाको बिषयमा सेयरधनीलाई बुुझाएका थिए । 

उनीहरुले मर्जर वा एक्वीजिसनको विकल्प नभेटिएको अवस्थामा मात्र सतप्रतिशतको प्रस्ताव ल्याइएको उल्लेख गर्दै ग्लोबल आइएमई बैंकसँग एक्वीजिसनको सम्झौता भई प्रक्रिया अगाडि बढिसकेकोले त्यसलाई रोक्नुुपर्ने र मर्जरपछि चाहि सेयरधनीको भविष्य सुनिश्चित हुने बताएपछि १० औं साधारणसभाको प्रस्ताव खारेज गर्न अधिकांश सहमत भएका हुुन् । 

साधारणसभाअघि मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणबाबुु लोहनीले एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्रबैंकको बाध्यकारी व्यवस्था अनुसार मर्जर वा एक्वीजिसनको विकल्प नभेटिएको अवस्थामा ल्याइएको सतप्रतिशत(१ बराबर १)को हकप्रदको प्रस्ताव ग्लोबल आइएमई बैंकमा गाभिने निर्णयपछि स्थगन गर्नुपरेको प्रष्ट्याएका थिए । उनले हकप्रद दिंदा भन्दा ठूलो बैंकमा गाभिँदा सेयरधनीले धेरै प्रतिफल पाउने दाबी गरेका थिए । 

‘विभिन्न बैंक तथा बित्तीय संस्थाहरुसँग मर्जर वा एक्वीजिसनका लागि खासै प्रगति नभएको कारणले तत्कालीन अवस्थामा केन्द्रीय बैंकले तोकेको चुक्तापूँजी पुर्याउन उद्देश्यले दशौं वार्षिक साधारणसभाबाट १ बराबर १ को दरले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृत गरे पनि मर्जर र एक्वीजिसनको प्रयास जारी थियो ।’ विज्ञप्तिमा भनिएको थियो–‘ सोही क्रममा असोज १४ गते ग्लोबल आइएमई बैंकसँग प्राप्तिको सम्झौता भएको हो । बैंकले गत बर्षको नाफाबाट यस वर्ष २८.१४ प्रतिशत बोनस सेयर दिएपछि डिडिएले आउने सम्माजनक स्वाप रेसियोमा एक्वीजिसनमा जाने समझदारी भएको हो ।’ 

बैंक संचालक समितिका अध्यक्ष राधेश्याम अग्रवाललाई सेयरधनीको जिज्ञासा मेट्दै सेयरधनीको सेयर संख्या बढ्ने र रिलायवल बैंक ग्लोबल आइएमई बैंकमा गाभिएपछि बैंकको समग्र प्रतिफल नघट्ने विश्वास दिलाएका थिए । उनले लगानीको क्षेत्र सीमित रहँदा, विकास बैंक र फाइनान्सहरुको संख्या घट्दै जाँदा बैंकहरुबीच ज्यादै प्रतिस्पर्धा हुने र यस्तो अवस्थामा एक्वीजिसनमा नगई आफैं सतप्रतिशत हकप्रद जारी गरेर पूँजी पुर्याउँदा समेत सेयरधनीलाई उचित प्रतिफल दिनसक्ने संभावना नरहेकोले समेत एक्वीजिसनमा जानुु परेको प्रष्ट्याएका थिए । 

बुधबारको वार्षिक साधारणसभाबाट २८.१४ प्रतिशत बोनस सेयरको प्रस्ताव समेत पारित गरेको छ । प्रस्तावित हकप्रद रद्ध गर्दै साधारणसभाले ग्लोबल आइएमई बैंकसँगको एक्वीजिसनका लागि संचालक समिति र उच्च व्यवस्थापनलाई मार्गप्रशस्त गरिदिएको छ ।