काठमाण्डौ । थुप्रै मानिस हरेक समय आफ्नो वित्तीय स्थितिलाई लिएर चिन्तित रहन्छन्। यस्तो केवल मार्केटमा उतारचढावका बेलामात्र हुने होइन। यस्ता चिन्ता के–के कारण हुन्छ र तिनीहरुबाट छुट्कारा पाउने तथा वित्तीय स्थिति राम्रो बनाउनका लागि के–के गर्नुपर्छ, जानौँ। 
धेरैपटक हामीलाई थरीथरीका डरले सताउँछ। भविष्य कस्तो होला? बालबच्चाको शिक्षाका लागि आवश्यक पैसा समयमै जम्मा गर्न सकिन्छ कि सकिन्न ? बूढेशकालमा पैसाको संकट त हुँदैन ? सेयरमा लगानी गरेको पैसा डुब्ने हो कि ? यस्ता चिन्तालाई हामीले कसरी नियन्त्रण गर्न सक्छौँ ? 

यसरी खोज्नुहोस् समाधानका उपायहरु –

१. डर : मेरो जागिर गुम्ने अवस्थामा छ 

यदि तपाइँ जागिर गुम्ने अवस्थाले चिन्तित हुनुहुन्छ भने तपाइँ आफ्नो बोस वा सहकर्मीबाट यसको स्पष्ट संकेत पाइसक्नुभएको छ । वा, तपाइँ जहाँ काम गर्नुहुन्छ, त्यो कम्पनीले कर्मचारी कटौती गर्न लागेको छ । यस्तो अवस्थामा तपाइँले आउनेसक्ने स्थितिको मुकाबिला गर्न तयार हुनुपर्छ । 

समाधान : तपाइँ पहिले इमान्दारिताका साथ काम गर्नुहोस् । अनि महसुस गर्नुहोस् कि तपाइँभित्र उब्जिएको जागिर जाने चिन्ताले कतै तपाइँको काम त प्रभावित भइरहेको छैन । यदि त्यसो हो भने पहिले गएर आफ्नो बोसलाई आफ्नो आशंकाबारे बताउनुहोस् र सोध्नुहोस् अनि निश्चिन्त भएर अगाडि बढ्नुहोस् । यदि कारण तपाइँ नभएर कम्पनीमा भइरहेको नोक्सानी हो भने तपाइँले छिटै अर्को जागिर खोज्ने तयारी गर्नुहोस् । यस्तो परिस्थिति निजी कम्पनीहरुमा प्रायः देखिने भएकोले तपाइँले जागिरको अवधिमा सीपसँगै मासिक रुपमा रकम बचत गर्नुपर्छ । अझै जागिरको सुरुआतबाटै बचत गर्ने बानी बसालेमा यस्तो अवस्थामा अर्को जागिर नपाउन्जेलसम्म तपाइँलाई वित्तीय संकटको सामना गर्नुपर्ने छैन । 

२. डर : मलाई स्टक मार्केटमा ठूलो नोक्सानी हुन्छ

यो सायद सबैभन्दा सामान्य वित्तीय डर हो । विशेषगरी नयाँ, कम अनुभवी र कम वित्तीय जानकारी राख्ने लगानीकर्तामा यस्तो डर देखिन्छ । यो त्यस्ता मानिसका लागि सत्य भोगाइ हो जसले पहिले नै मार्केटको उतारचढावमा नोक्सानी व्यहोरेको छ । यसले गर्दा पनि मार्केटमा नोक्सानी हुने डर उत्पन्न हुन सक्छ । 

समाधान : यदि तपाइँलाई लगानीबारे जानकारी छैन र तपाइँले नोक्सानी व्यहोर्नुभएको छ वा यही कारणले तपाइँलाई डर छ भने यसको एउटै समाधान हुन सक्छ तपाइँ सीधै कम्पनीका सेयरहरु किनेर स्टक मार्केटमा प्रवेश नगर्नुस् । सुरुमा म्युचुअल फन्डबाट लगानी गर्न थाल्नुहोस् । यदि तपाइँ कम्पनीका सेयरहरुमा लगानी गर्न चाहनुहुन्छ भने पहिला यसबारे आफ्ना साथीभाइ र आफन्त जो पहिलेदेखि नै यो क्षेत्रमा लागेका छन् उनीहरुसँग सुझाव लिनुहोस् । अनि उचित लागेमात्र सेयरमा लगानी बढाउनुहोस् । तपाइँका लागि अर्को महत्वपूर्ण सुझाव यो पनि हुन सक्छ कुनै कम्पनीको सेयरमा लङ टर्म लगानी गर्नुहोस् र मार्केटमा हुने दैनिक उतारचढावबाट बच्नुहोस् । 

३. डर : मसँग रिटायरमेन्टपछि पर्याप्त पैसा हुने छैन, त्यसैले आफ्ना छोराछोरीमा भर पर्नुपर्ने हुन सक्छ

लगभग ५१ प्रतिशत मानिसलाई आशंका हुन्छ कि रिटार्यमेन्टपछि उनीहरुसँग पैसा हुनेछैन । यीमध्ये १० मा ७ जना आफ्ना छोराछोरीमा भर पर्नुपर्ने आशा राख्छन् ।

समाधन : यदि तपाइँलाई लाग्छ कि जागिर जीवनको समाप्तिसँगै रिटायरमेन्टमा थोरै पैसा हुनेछ र त्यसबाट जीवन निर्वाह गर्न कठिन हुन्छ भने अहिलेदेखि तपाइँ फजुल खर्च घटाएर बचत गर्ने बानी बसाल्नुहोस् । अनि बचत गरेको पैसा राम्रो प्रतिफल हुने ठाउँमा पनि लगाउनुहोस् । जसले गर्दा तपाइँको सम्पत्ति बढ्दै जानेछ र रिटायरमेन्टमा राम्रै पैसा जम्मा हुनेछ । यसले तपाइँले आफ्ना छोराछोरीमा निर्भर हुनुपर्ने अवस्थाबाट मुक्ति दिलाउनेछ । 

४. डर : म ऋणमा डुबेको छु, कसरी तिर्ने ?

ऋण लिने बानी बसिसकेका मानिस प्रायः हरेक चिज उधारोमै किन्न चाहन्छन् । अझै त्यस्ता मानिस ऋणमाथि ऋण थप्दै जान्छन् । जसमा लामो समयको ऋण टाउको दुःखाइको विषय बन्न सक्छ । ऋणको भार थपिँदै जाँदा कसरी तिर्ने भन्ने चिन्ताले मनमा घर बनाउन थाल्छ । 

समाधान : यो डर कम गर्ने उत्तम तरिका भनेको तपाइँ आफ्नो आम्दानीको ४०–५० प्रतिशतभन्दा बढी ऋण नलिनुहोस् । अर्थात् मासिक रुपमा साँवाब्याज गरेर तपाइँको आम्दानीको अधिकतम ५० प्रतिशतसम्म ईएमआई भर्ने क्षमता राख्नुपर्छ । मासिक रुपमा ईएमआई तिर्नुहोस्, लापरबाही नगर्नुहोस् । आम्दानीको बाँकी ५० प्रतिशतमध्येबाट पनि २५ प्रतिशतसम्म बचत गर्ने कोसिस गर्नुहोस् र त्यसलाई सही ठाउँमा लगानी गर्नुहोस् । यसले भविष्यमा तपाइँको बाँकी ऋण तिर्न सहजता प्रदान गर्नेछ । यदि तपाइँले पहिले नै ठूलो ऋण लिनुभएको छ भने त्यसलाई तिर्ने व्यवस्थित योजना बनाउनुहोस् । 

५. डर : स्वाथ्योपचारमा लाग्ने ठूलो खर्च कहाँबाट जुटाउने ?

मेडिकल इमर्जेन्सीमा तपाइँको बचत रकम खर्च हुने डरका कारण तनाव हुन सक्छ । गम्भीर बिरामी र जटिल दुर्घटनाका घटनामा प्रायः यस्तो स्थिति सिर्जना हुन सक्छ । यस्तो अवस्थामा सामान्य हेल्थ इन्स्योरेन्स पोलिसी पर्याप्त नहुन सक्छ । 

समाधान : यसका लागि पहिले नै तपाइँले एउटा राम्रो हेल्थ इन्स्योरेन्स पोलिसी बनाउनुहोस् । जसले गर्दा स्वास्थ्योपचारमा हुने आर्थिक अभावबाट उन्मुक्ति पाउन सकियोस् । – एजेन्सी