काठमाण्डौ । तेह्रथुम पावर कम्पनीले प्रवद्र्धन गरेको ७.५ मेगावाट क्षमताको अपर खोरुंगा जलविद्युत आयोजनामा तीन वाणिज्य बैंकले एक अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । 

माछापुच्छे बैंकको अगुवाईमा नेपाल बंगलादेश बैंक र जनता बैंक नेपालले एक अर्ब ऋण लगानी गर्ने सोमबार सम्झौता भएको हो । 

सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुम पावर कम्पनीका प्रबन्ध संचालक मोहनकुमार डाँगी र माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) निरजकुमार श्रेष्ठले ऋण लगानी सम्बन्धी सम्झौता हस्ताक्षर गरेका थिए । 

ऋण लगानीको सम्झौतापछि बैंकले जारी गरेको विज्ञप्ति अनुसार आयोजना निर्माणमा कुल १ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ खर्च हुने र यसमध्ये १ अर्ब रुपैयाँ बैंकहरुले लगानी गर्नेछन् । यो परियोजनामा प्रवद्र्धकले २७ प्रतिशत इक्वीटी लगानी गर्ने बताइएको छ । 

अपर खोरुङ्गा जलविद्युत आयोजना तेह्रथुमको मोराहाङमा अवस्थित छ । २९६.५ मिटर हेड र ३.१५ क्युसेक(डिजाइन डिस्चार्ज) पानी बालुवा थेग्रायाई करिब ११२९ मिटर पेनस्टक पाईपको माध्यमबाट उर्जा उत्पादन गरिने प्रवद्र्धक कम्पनीले जनाएको छ । 

आयोजनाबाट वार्षिक ४२.९५८ गिगावाट  विद्युतीय उर्जा उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता(पि.पि.ए) अनुसार जिरी खिम्ती सवस्टेशनसम्म आयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने तेह्रथुम पावर कम्पनीका प्रबन्ध संचालक मोहनकुमार डाँगीले बताएका छन् । 

उनका अनुसार लगानी सम्झौता भएको तीन महिना भित्रै आयोजनाका मुख्य संरचना निर्माण थाली २०७६ पुस १ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।