काठमाण्डौ । चाडपर्वलाई लक्षित गरी नेपाल राष्ट्रबैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई बढाएको छ । 

विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुलाई सर्कुलर जारी गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको जनाएको हो।

यसअघि दैनिक १० किलोग्राम मात्रै सुन आयात गर्न पाइने व्यवस्था थियो । 

सुन आयातको दैनिक परिमाण बढाएसँगै व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा भने आयात गर्न नपाइने नियम समेत कार्यान्वयनमा ल्याइएको छ । 

उदाहरणका लागि यदि साउन महिनाको कुनै दिन तोकिएको परिणामभन्दा कम सुन आयात भएमा बाँकी रहेको सुन परिमाण भदौमा आयात गर्छुभन्दा पाइनेछैन । तर, साउनको कुनै दिन दैनिक परिमाणभन्दा कम सुन आयात भएको खण्डमा बाँकी रहेको परिमाण साउन महिनाकै अन्य कुनै दिनमा आयात गर्छु भन्दा चाहिँ पाइने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । 

बैंकबाट सुन खरीद गर्ने व्यवसायीले आफूले बिक्री उपयोग गरेको सुनको विवरण प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र सम्बन्धित बैंकमा मासिक विवरण बुझाउनुपर्ने र यस्तो विवरण विद्युतीय माध्यमबाट समेत बुझाउन सकिने व्यवस्था गरिएको छ ।