काठमाण्डौ । लामो अवधिको ट्रेजरी इल्डको बढोत्तरीका कारण मुद्रास्फितिलाई कम गर्नका लागि विगत १९ महिनाको ऐतिहासिक ब्याजदर वृद्धिको पट्यारलाग्दो दौडलाई अन्त्य गर्ने कुरामा फेडेरल रिजर्बका नीति निर्माताहरु आशावादी देखिएका छन् । 

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका कारण पनि फेडेरल रिजर्बले बनाउने नीति र हिँड्नसक्ने बाटो विश्वभरका अन्य अर्थतन्त्रका लागि पनि अनुकरणीय हुनसक्छन् । फेडका नीति निर्माताहरुले योसँगै ब्याजदर वृद्धिको लामो दौड सकिने आशा व्यक्त गरिरहँदा विश्वभर बिस्तारै आर्थिक मन्दी हट्दै जाने आशा समेत गर्न थालिएको छ । 

वाल स्ट्रिटले पनि मौद्रिक नीतिमा थप कडाई नहुने कुरामा आशावादी महसुस गरिरहेको सिएनएन मनिले लेखेको छ । नोभेम्बरमा फेडले पुनः ब्याज बढाउने सम्भावना न्यून हुँदै गएकोले समेत आशाका किरणहरु देखिन थालेका छन् । 

बित्तीय बजारहरुले हाल अमेरिकी केन्द्रीय बैंकले अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुने अर्को नीति बैठकमा दरहरु अपरिवर्तित राख्ने लगभग ९० प्रतिशत सम्भावना देखेको छ । एकमहिनाअघिसम्म यस्तो सम्भावना ५७ प्रतिशत आसपास मात्र आँकलन गर्ने गरिएको थियो । 

बहुसंख्यक व्यापारी तथा व्यवसायीहरुले पनि अब फेडले दरहरु नबढाउने दाबी गर्दै आएका छन् । उनीहरुको अनुमानमा फेडले  जुन २०२४ सम्म दरहरु होल्ड गर्नेछ र त्यसपछि मौद्रिक नीतिमा लचकता अपनाउनेछ । एक अध्ययनको क्रममा समेत यही देखिएको रिपोर्टमा उल्लेख गरिएको छ । 

१० वर्षे अवधिको यूएस ट्रेजरीको दर सन् २००७ पछिकै उच्च तहमा पुगेको छ ।  त्यो चाहिँ अमेरिकी अर्थतन्त्रका लागि खराब समाचार हो । तर, यसले फेडका लागि काम गरिरहेको हुनसक्छ । 

अमेरिकी उपभोक्ताहरुका लागि ट्रेजरीको दर बढ्नु भनेको कारलोन खर्चिलो हुनु, क्रेडिट कार्ड रेट र विद्यार्थीले लिने ऋणको ब्याजदर पनि बढ्नु हो । 

यसको अर्थ महंगो मोर्गेज रेट पनि हो । किनभने मोर्गेज रेट ट्रेजरीको रेटकै लयमा चल्ने गर्छ । जब टे«जरीको रेट माथि जान्छ, मोर्गेज रेट पनि बढ्छ, तल आउँदा मोर्गेज पनि तल आउँछ । 

हाल यूएसको मोर्गेज रेट २३ वर्षकै उच्च अवस्थामा छ र घर किन्नसक्ने क्षमतामा चाहिँ १९८४ कै सबैभन्दा न्यून अवस्थामा पुगेको छ । 
यसको अर्थ हो उपभोक्ताको पसिना निस्किरहेको छ । फेडेरल रिजर्भले मंगलबार जारी गरेको  उपभोक्त सर्वेक्षण डेटअनुसार महामारीको सुरुवाती हप्तादेखि नै न्यूनतम ऋण भुक्तान नहुँदा अमेरिकीहरु यसरी चिन्तित थिएनन् । 

फेडको उक्त सर्वेक्षणअनुसार अर्को तीन महिनामा न्यूनतम ऋण भुक्तानी गर्ने औसत अनुमानित सम्भावना सेप्टेम्बरमा १.४ प्रतिशत अंकले बढेर १२.५ प्रतिशत पुगेको छ । यो सन् २०२० मे महिनापछिकै उच्च दर पनि हो । 

यो अर्थतन्त्रका लागि खराब अवस्था भए पनि रेटहरुलाई तल झार्न भने महत्वपूर्ण अवस्था हुनसक्छ । 

फेडका अधिकारीहरुले मुद्रास्फितिलाई २ प्रतिशतमा सीमित राख्नका लागि अहिलेका दरहरु पर्याप्त छन् । 

मंगलबार फेडरल रिजर्भ बैंक अटलान्टाका अध्यक्ष राफेल बोस्टिकले अप्रत्यासित आर्थिक घटनाहरु भएनन् भने ब्याजदरहरु माथि उठ्ने अवस्था नआउने दाबी गरेका छन् । 

गत हप्ता, सान फ्रान्सिस्को फेडका अध्यक्ष मेरी डेलीले भनिन् कि सेप्टेम्बरमा फेडको अन्तिम बैठक पछि ट्रेजरी उपजमा भएको वृद्धि अर्को चौथाई प्रतिशत अंक ब्याज दर वृद्धिको बराबर थियो। आर्थिक अवस्था कमजोर रह्यो भने थप कदम चाल्नुपर्ने आवश्यकता कम हुँदै गएको उनले बताइन् ।

-सिएनएनबाट अनुदित