काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले पाउने कमिसन क्रमशः बढ्दै गइरहेको छ। स्थापनाकालदेखि नै कम्पनीले अभिकर्तालाई दिने कमिसन बढाउँदै लगेको वित्तीय विवरणले देखाएको छ। 

गत आर्थिक वर्ष २०७९–८० मा मात्रै कम्पनीले अभिकर्तालाई एक अर्ब ५७ करोड २२ लाख रुपैयाँ कमिसनका लागि छुट्याएको छ। जुन यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.२२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा कम्पनीले अभिकर्ता कमिसन वापत १ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ छुट्याएको थियो। 

जीवन बीमा कम्पनीमा अभिकर्तालाई पहिलो वर्ष प्रिमियम रकमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र त्यसपछि ८ वर्षसम्म ५–५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ। नेसनल लाइफले प्रथम बीमाशुल्क आर्जनमा उल्लेख्य प्रगति गरेको देखिएकाले पनि बीमा अभिकर्ताले पाउने कमिसन बढेको देखिएको हो। 

गत आर्थिक वर्षको अन्त्यसम्ममा नेसनल लाइफले ३ अर्ब ८७ करोड २ लाख रुपैयाँ नयाँ व्यवसायमार्फत प्रिमियम संकलन गरेको छ। यो हिसाबले पनि कम्पनीमा अभिकर्ताले पाउने कमिसन बढेको देखिन्छ। 

गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षको तुलनात्मक अध्ययनमा नेसनल लाइफबाहेक सबै कम्पनीमा अभिकर्ता कमिसन घटेको छ। आर्थिक संकटले गर्दा जीवन बीमा कम्पनीहरुमा नयाँ व्यवसाय भित्रिन नसकेकाले अभिकर्ताले पाउने कमिसनसमेत कटौती हुन पुगेको हो। नेसनल लाइफले भने आफ्ना अभिकर्तालाई दिँदै आएको कमिसन गत वर्षमा समेत बढाएर अभिकर्तासमक्ष कम्पनीको राम्रो छवि बनाउन सफल भएको छ। 

नेसनल लाइफमा विगतका वर्षदेखि नै अभिकर्ताले कमिसन तथा प्रोत्साहनबापत पाउने रकम निरन्तर बढ्दै गएको देखिन्छ। कम्पनीले गत आर्थिक वर्षमा अभिकर्तालाई १ अर्ब ५७ करोड कमिसन तथा प्रोत्साहन बापत छुट्याएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने कम्पनीले १ अर्ब ५२ करोड रुपैयाँ अभिकर्ता कमिसन छ्ुट्याएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७७–७८ मा पनि कम्पनीले अभिकर्तालाई कमिसन बापत १ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ प्रदान गरेको थियो। 

यसका साथै आर्थिक वर्ष २०७६–७७ मा ९१ करोड १० लाख, आर्थिक वर्ष २०७५–७६ मा ८३ करोड ८७ लाख र आर्थिक वर्ष २०७४–७५ मा ६० करोड ५१ लाख रुपैयाँ अभिकर्ता कमिसन प्रदान गरेको थियो।