काठमाण्डौ । बीमा अभिकर्ता पेशाबाट पनि लाइफ सेटल हुन्छ र ? भन्ने सोच बोेकेकि सिर्जना पन्त अहिले अभिकर्ता पेशामा आबद्ध भएर मनग्य आम्दानी गर्छिन् ।
उनी यतिबेला सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय बीमा अभिकर्ताका रुपमा परिचित छिन् ।
तीन वर्षदेखि अभिकर्ता पेशाबाटै व्यक्तित्व विकाससँगै जीवनशैली पनि परिवर्तन भएको उनले बताइन् । २०७७ साल फागुन महिनाबाट साविक ज्योति लाइफ इन्स्योरेन्स (हाल सूर्यज्योति लाइफ) बाट बीमा क्षेत्रमा पाइला टेकेकी उनले तीन वर्षको अन्तरालमा पब्लिक रिलेसनसँगै थुप्रै उपलब्धि पाइन् ।
‘बीमा क्षेत्रमा आउनुभन्दा अघि अभिकर्ताको पेशाप्रति मेरो नकारात्मक धारणा थियो, सर्वसाधारणलाई अनेकन प्रलोभन दिएर पैसा कमाउने धन्दा हो भन्ने भ्रम थियो’ उनले भनिन्, ‘२०६२ सालमा एउटा जीवन बीमा कम्पनीको तालिममा समेत सहभागी भएकी थिंए तर मलाई खासै उचित लागेन । केही गर्न नसक्नेले मात्रै गर्ने व्यवसाय रहेछ भन्ने गलत सोच थियो ।’
अभिकर्ता पेशामा लागिसकेपछि यसअघिका त्यस्तो सोचहरु सवै गलत रहेको उनी अहिले महसुस गर्छिन् । सिर्जनाले यतिबेला अभिकर्ता पेशाबाटै मासिक २–३ लाख रुपैयाँसम्म आम्दानी गर्छिन् । ‘लगनसिल भएर मेहनत गर्ने हो भने यो पेशाले धेरै थोक दिने रहेछ । मासिक २–३ लाख रुपैयाँ ढुक्कले आम्दानी हुन्छ, तर त्यसको लागि निरन्ततर लगाव र परिश्रम अवश्य चाहिन्छ’, उनले भनिन्, ‘मैले बीमा अभिकर्ताको पेशालाई कमाउने थलोको रुपमा मात्र लिएको छैन, बरु एउटा सामाजिक सेवाको रुपमा पनि लिएको छु ।’
अभिकर्ता पेशाबाटै नेटवर्किङ, पब्लिक रिलेसन(पीआर), सामाजिक प्रतिष्ठा, आर्थिक विकास, व्यक्तित्व विकासलगायत थुप्रै उपलब्धि पाएको उनी बताउँछिन् । ‘यो पेशाले मलाई धेरै कुरा दियोभन्दा पनि सिकायो भन्न रुचाउँछु’, उनी भन्छिन्, ‘म सामाजिक सेवामा रुची राख्ने भएको हुँदा यो पेशालाई व्यवसायिक भन्दा पनि सामाजिक कार्यको रुपमा लिएकी छु ।’
बीमा अभिकर्ताको पेशामा बीमा बिक्री गर्ने क्रममा धेरैथरिका पेशामा आवद्ध मानिसहरुसँग भेट हुने भएकोले आफूले यस क्षेत्रबाटै धेरै आफन्त समेत कमाएको समेत उनी बताउँछिन् । उनले भनिन् ‘बीमा भनेको विश्वासको व्यापार हो र बीमाको लागि अप्रोच गर्दा कसरी बीमितलाई बुझाउने त्यो आफैंमा भरपर्छ, मैले चांहि यो क्षेत्रबाट धेरे आफन्त कमाएको छु ।’
आर्थिक पाटो बलियो भएसँगै उनले सक्षम अभिकर्ताको रुपमा नाम समेत कमाएकी छिन् । गोरखाको गण्डकी गाउँपालिका२ गबटारमा जन्मिएकी सिर्जनाले व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण गरेकि छिन् । ‘मलाई सफलता दिलाउन मेरो श्रीमानको पनि ठूलो हात छ म अभिकर्ता पेशामा खटिरहँदा श्रीमान्ले छोरीलाई रेखदेख गरी साथ दिनुभएको छ’, उनले भनिन् ।
अभिकर्ता पेशाबाट पाएको उपलब्धि
सिजर्नाले अभिकर्ता पेशा अँगालेपछि धेरै उपलब्धि पाएको बताउँछिन् । सन् २०२२ र २०२३ मा एमडीआरटी बनिसकेकी उनी सन् २०२४ को लागि समेत एमडिआरटी क्वालिफाइड भइसकेकी छिन् । ‘अभिकर्ताहरुको लागि एमडिआरटी बन्नु सबैभन्दा ठूलो सफलता हो । एमडीआरटी क्वालिफाइड हुन हजारौं अभिकर्ताहरु दिनरात लागिपरेका हुन्छन्’, उनले भनिन् ‘२०२४ सहित गरी तीनपटक एमडीआरटी क्वालिफाइड भइसकेको छु, तर मेरो टार्गेट २०२४ मा सीओटीका लागि योग्य बन्नु हो ।’
लगनशील हुने हो भने यो क्षेत्रमा नसोचेको उपलब्धि हुने उनको भनाइ छ । उनी सन् २०२३ को लागि एमडीआरटी क्वालिफाइड भएर उनी सिंगापुरमा भएको एमडीआरटी ग्लोबल कन्फ्रेन्समा समेत सहभागी भइसकेकि छिन् ।
‘बैंकर्सले भन्दा इन्स्योरेन्स एजेन्सीले धेरै कमाउन सक्छ’
सिर्जनाले एउटा बैंकर्सले भन्दा इन्स्योरेन्स एजेन्सीले धेरै कमाउन सक्ने बताइन् । ‘लगनशीलता सबै क्षेत्रमा आवश्यक छ, तर एउटा बैंकको कर्मचारीले भन्दा इन्स्योरेन्स एजेन्सीले धेरै कमाउन सक्छ, यसको थुप्रै उदाहरणीय पात्रहरु समेत इन्स्योरेन्स इन्डस्ट्रिमा छन्’, उनी भन्छिन्। उनका अनुसार बीमा पोलिसी बेच्न सक्नेले हरेक थोक बेच्न सक्छ, बीमा अभिकर्ता पेशाले बिक्री गर्ने कला पनि सिकाउँछ ।
‘बीमितलाई थप सुविधा दिंदा अभिकर्ता कमिशन घटेको हो’
बीमा कम्पनीहरु पूर्ण रुपमा बीमितमैत्री हुनुपर्ने सिर्जनाको भनाइ छ । कम्पनीहरुले बीमितलाई थप सेवा दिए यता अभिकर्ता कमिसन घट्न पुगेको उनीको तर्क छ । ‘बीमा कम्पनीहरु अभिकर्तामैत्री भन्दा पनि बीमितमैत्री बन्नुपर्छ’, उनी भन्छिन् ‘अभिकर्ताको कमिसनदर घटेको भन्दा पनि अभिकर्ताले नयाँ व्यवसाय खासै ल्याउन नसक्दा कमिसन घटेको हो ।’
अभिकर्ता पेशाबाट अर्थतन्त्रमा समेत योगदान
अभिकर्ताहरुले तिरेको करले देशको अर्थतन्त्रमा समेत योगदान पुगेको छ ‘हामीले आम्दानी गरेको रकमको १५ प्रतिशत सरकारलाई कर तिरिरहेका छौं, यो क्षेत्रमा मासिक रुपमै लाखौं रुपैयाँ कमाउने अभिकर्ताहरु पनि छन्, अभिकर्ताको करबाट राज्यको अर्थतन्त्र सुधारमा पनि योगदान छ’, उनी भन्छिन् ।
‘३०–४० हजारको लागि विदेशिनु पर्दैन’
बीमा कम्पनीले स्वदेशमै रोजगारी सिर्जना गरिरहेकोले ३०–४० हजार रुपैयाँ मासिक आम्दानी गर्न विदेशिनु नपर्ने उनको भनाइ छ । ‘कतिपय स्नातक वा स्नाकोत्तर तह उत्तीर्ण गरेका भाईबहिनीहरु खाडीमुलुक गइरहेका हुन्छन्, बोल्न सक्ने र ज्ञान भएकाहरुका लागि त यो क्षेत्र झन् ठूलो अवसर हुनसक्छ’, उनी भन्छिन् ‘एसईई मात्रै पास गरेकाहरुले समेत यो क्षेत्रमा राम्रो आम्दानी गर्न सक्छन्, बीमा कम्पनीहरुले अभिकर्ताका लागि कुनै सीमा तोकेका छैनन् ।’
‘आयस्रोतको १५ % रकमबाट भएपनि बीमा गर्नैपर्छ’
न्यून आय भएकाहरुलाई बीमा झन आवश्यक रहेको सिर्जना तर्क गर्छिन् । ‘धेरै कमाउनेहरुले बीमा गरिसकेका छन्, मूख्यगरी पिछडिएका वर्ग र न्यून आय भएका वर्गलाई बीमा अझ खाँचो छ’ उनी भन्छिन् ‘जीवनमा हुने आर्थिक क्षतिको न्यूनीकरण बीमाले गर्ने भएकोले त्यस्ता व्यक्तिहरुले बीमा अनिवार्य गर्नैपर्छ ।’
साथै आयस्रोतको १५ प्रतिशत रकम बीमा गर्नका लागि छुट्याउनै पर्ने सिर्जना सुझाव दिन्छिन् । ‘बीमामा घातक रोग, दुर्घटना बीमा, स्वास्थ्य बीमा जस्ता धेरै सुविधाहरु छन्’, उनी भन्छिन् ‘बीमा गर्नका लागि सबैले थोरै–थोरै रकम भएपनि छुट्याउनैपर्छ ।’
‘बीमाले जीवनमा हुने आर्थिक क्षति न्यूनीकरण गर्छ, बचतसँगै बीमाले रिस्क समेत कभर गर्ने भएकोले थोरै–थोरै रकम बचाएर भएपनि बीमा गर्नुपर्छ’, उनी भन्छिन् ‘बीमा कम्पनीहरु नाफामूलक भन्दा पनि सेवामूलक संस्था हुन्, थोरै–थोरै रकम बचाएर गरेको बीमाको रकम जसरी पनि प्रतिफलसहित फिर्ता पाइन्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19