काठमाण्डौ। अर्थशास्त्रीहरुले कोरोनाभाइरसको महामारीबाट अत्याधिक प्रभावित अमेरिकामा सात दशकयताकै महामन्दी आउने अनुमान गरेका छन्।

नेसनल एसोसिएसन फर बिजनेस इकोनोम्सिक (एनएबीई) हालै गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै अमेरिका महामन्दीतर्फ उन्मुख भएको जनाएको हो। एनएबीईले कोरोना महामारी फेरि पनि आउने संकेत गर्दै यसले अमेरिकासँगै विश्व अर्थव्यवस्थामा ठूलो संकट निम्त्याउने चेतावनी दिएको छ। 

एनएबीईले कोरोना महामारीकै कारण अमेरिकाको कुल घरेलु उत्पादन यो वर्ष ५.९ प्रतिशतसम्म घट्ने अनुमान गरेको छ। यो गिरावट सन् १९४६ पछिकै सबैभन्दा बढी हुने एनएबीईले जनाएको छ। 

सन् १९४६ मा द्वितीय विश्व युद्धका क्रममा अमेरिकाको जीडीपीमा ११.६ प्रतिशतको कमीआएको थियो। 

एनएबीईका ४८ सदस्यीय विशेषज्ञहरुको टोलीले जनवरीदेखि मार्चसम्म त्रैमासमा अमेरिकाको जीडीपी ५ प्रतिशतले घटेको जनाएको छ। जबकि अप्रिलदेखि जुनसम्म त्रैमासमा रेकर्डतोड गिरावट आएर ३३.५ प्रतिशत पुग्ने टोलीको अनुमान छ। 

एनएबीईले यो वर्षको अन्तिम ६ महिनामा अमेरिकाको आर्थिक वृद्धिदरमा केही प्रगति हुने आशा गरेको छ। जसअनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासमा ९.१ र अक्टोबरदेखि डिसेम्बरसम्म चौथो त्रैमासमा ६.८ प्रतिशत हुने अनुमान गरिएको छ। 

यी अर्थशास्त्रीहरुले सन् २०२१ मा अमेरिकाको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरेका छन्। – एजेन्सी