काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अलीबाबासहित केही अन्य चिनियाँ कम्पनीहरुलाई अमेरिकामा प्रतिबन्ध लगाउन सकिने संकेत गरेका छन्।

पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले सञ्चारकमीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै यस्तो संकेत गरेका हुन्। उनले भनेका छन्, ‘चीनका केही अन्य कम्पनीहरुमा प्रतिबन्ध लगाउनेबारेमा हामी विचार गरिरहेका छौँ। यस विषयमा अध्ययन भइरहेको छ।’

पछिल्लो समय ट्रम्पले चिनियाँ स्वामित्व भएका कम्पनीहरुमा दबाब दिइरहेका छन्। ट्रम्पले यसअघि टिकटकमा प्रतिबन्ध लगाइसकेका छन्। अमेरिकाले गत शुक्रबार चिनियाँ कम्पनी बाइटडान्सलाई आदेश दिँदै ९० दिनभित्र टिकटकको सञ्चालन बन्द गर्न भनिसकेको छ। 

अमेरिकाले व्यक्तिगत डेटा सुरक्षालाई लिएर यस किसिमको दबाब बढाइरहेको छ। – एजेन्सी