काठमाण्डौ । अमेरिकी राष्ट्रपति र चीनका समकक्षी बीच एक वर्षपछि भेटवार्ता हुने भएको छ ।

विश्वका दुई महाशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आकाङ्क्षाका बीच यो भेटलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।  

आगामी नोभेम्बर १४ देखि १७ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को बैठकमा भाग लिन चिनियाँ राष्ट्रपति सि चिनफिङ त्यसतर्फ जान लागेको चीनको विदेश मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार नोभेम्बरमा  १५ मा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट्ने कार्यक्रम तय भएको छ।६ वर्षपछि अमेरिका जान लागेका उनले आफ्ना समकक्षी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछन् ।

उनीहरु एक आपसमा भने ठीक एक वर्षपछि भेट्दै छन् । उनीहरु बीच सन् २०२२ को नोभेम्बरमा बाली जी–२० शिखर सम्मेलनमा तीन घण्टा साइड लाइन वार्ता भएको थियो ।

तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका र चीन बीच व्यापार युद्ध सुरु भएको थियो । व्यापार युद्धले दुवै देशमा भएका आपसी लगानीलाई असर पारेको छ ।  अहिले दुई देश बीच आर्थिक र सुरक्षा विषयमा निकै विवाद छ।   

रसिया-युक्रेन र हमास इजरायल युद्ध जारी रहँदा सीको अमेरिका यात्रालाई महत्वका साथ हेरिएको छ। यससँगै दुई देश बीच बढ्दो असम्झदारी बीच सीको बाइडेनसँगको छलफल महत्वपूर्ण हुने अनुमान छ।

दुई राष्ट्रपति बीचको भेटमा विश्वमा जारी युद्धसँगै ताइवान मामिलामा समेत चर्चा हुने अधिकारीहरुले बताएका छन् ।दुई नेताबीच व्यापारिक अवस्थाबारे पनि चर्चा हुनेछ। चिनियाँ उपराष्ट्रपति हान झेङले सिंगापुरमा ब्लुमबर्गले आयोनजा गरेको न्यू इकोनोमी फोरममा बोल्दै चीन अमेरिकासँग सम्बन्ध सुधार गर्न तयार रहेको यसअघि नै बताइसकेका छन् ।

अमेरिकाले संवेदनशील प्रविधि र रणनीतिक कच्चा पदार्थमा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने नीतिलाई तीव्र र व्यापक रूपमा अघि सारेको छ ।

बाली शिखर सम्मेलनको केही समय पछि अमेरिकी भूमिमा देखिएका चिनियाँ बेलुनलाई लिएर दुई देशबीचको कूटनीतिक सम्बन्ध जटिल बनेको थियो, जसलाई चिनियाँ प्रविधिमा अमेरिकाले लगाएको थप प्रतिबन्ध र ताइवानको मुद्दाले थप पेचिलो बनाएको थियो ।

हालैका महिनामा दुई देश बीच उच्चस्तरको प्रतिनिधिमण्डल बीच वार्ताको आदानप्रदान गर्ने लहरपछि सम्बन्ध केही न्यानो भएको छ ।पछिल्लो समय दुई देशहरुले बढ्दो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने सम्भावना खोजिरहेको देखिन्छ ।  -एजेन्सी