काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद जारी गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश रहेका छन्। 

कम्पनीले बोनस सेयर जारी पनि हुन आउने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय पनि गरेको छ। 

यी दुवै लाभांश र हकप्रदको अजेन्डा अनुमोदन गर्न सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारणसभा आउँदो भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको थापाथलीस्थित ट्रेड टावर नेपालमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरिएको छ।

सोही सभाले लाभांश अनुमोदन गर्दै हकप्रद जारी गर्ने मुख्य अजेन्डा पारित गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १४ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।