काठमाण्डौ । कोभिड १९ को संक्रमण कम भई लकडाउन खुलेसँगै अर्थतन्त्र चलायमान बन्न थालेको छ ।

सरकारले कोभिड संक्रमण नियन्त्रण तथा न्यूनिकरणका लागि लगाएको लकडाउन खुकुलो बनाउने क्रमसँगै उद्योग व्यवसाय समेत पुरानै लयमा फर्किन थालेको एक अध्ययनले देखाएको हो । 

नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणका क्रममा २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो।

सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत राष्ट्रबैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । 

नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्डहरु खुकुलो बनाउँदै लगेका कारण व्यवसायहरु क्रमिक रुपमा संचालनमा आउन थालेका देखिएको छ । व्यवसाय संचालन सम्वन्धी पछिल्लो वस्तुस्थिति बारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्म पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो।

'सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग/व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ । साथै असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको देखिन्छ ।' सर्वेक्षण प्रतिवेदनमा भनिएको छ-'यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग/व्यवसायहरु सञ्चालन हुन भने सकेका छैनन्।' 

यस्तै, उद्योग/व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु सर्वेक्षणको क्रममा अगाडि सारेका थिए । 

अब राष्ट्रबैंकले सर्वेक्षणको क्रममा आएको नतिजालाई बुँदागत रुपमा टेबलसहित हेरौं:

गत असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको देखिएको छ । अझै पनि ९.१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन नसकेको देखिन्छ  ।


गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिन्छ । तर, साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरुको संचालन अवस्थामा उल्लेख्य सुधार आएको छ।


गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ।


गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन/कारोबार बढेको पाइएको छ ।


गत असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएतापनि कोभिड महामारी अगाडिको अवस्थामा भने पुग्न सकेको छैन । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग/व्यवसायहरुको बाहुल्यता रहेकाले मझौला उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएका अनुमान छ।


गत असारको तुलनामा उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्चमा वृद्धि भएको पाइएको छ ।कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्च घटेको पाइएको छ ।


गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको औसत तलब-ज्याला खर्च वृद्धि भएको पाइएको छ।


सर्वेक्षणमा सहभागी अधिकांश उद्योग/व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च (तलब–ज्याला, घरजग्गा भाडा तथा ब्याज खर्च) धान्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु रहेको बताएका छन् ।