aleppo
बीबीसी । सिरियाली शहर अलेप्पोमाथि आक्रमण तीव्र पारिएपछि झण्डै २० लाख मानिस ताजा पानीविहीन भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसंघको बालबालिकासम्बन्धी निकायका अनुसार शुक्रबार तीव्र हमला भएपछि उक्त शहरका विद्रोही नियन्त्रित क्षेत्रमा पानी आपूर्ति गर्ने पम्प रहेको क्षतिग्रस्त स्टेशन मर्मत गर्न नसकिएको हो।
बदलामा अलेप्पोका बाँकी भागमा पानी आपूर्ति गर्ने नजिकैको स्टेशन बन्द गरिएको युनिसेफले बताएको छ। गत सोमबार एउटा युद्धविराम भंग भएपछि शनिबार अलेप्पो शहरमाथि हमला तीव्र पारिएको बताईएको छ।
युनिसेफका सहायक निर्देशक जस्टिन फोर्साइथले संसारको आँखा अगाडि अलेप्पोको बिस्तारै मृत्यु भईरहेको बीबीसीलाई बताएका छन्। युनिसेफका प्रवक्ता कीरान ड्वायरले ताजा पानीको अभावले विपत्ति श्रृजना गर्ने भन्दै अब बासिन्दाहरुले प्रदूषित पानीको प्रयोग गर्नुपर्ने हुँदा त्यहाँ पानीबाट फैलिने रोगहरुको जोखिम बढेको बताएका छन्।
पानीलाई सबै पक्षले युद्धको हतियारका रुपमा प्रयोग गरेको उनले बताए। ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्सले शनिबार भएको हमलामा कम्तीमा २५ जना मारिएको बताएको छ।
सिरियाली सेनाले स्थगलत आक्रमणको तयारी गरेको बताउँदै सर्वसाधारणलाई विद्रोही नियन्त्रित क्षेत्रबाट टाढा रहन आह्वान गरेको छ।
आक्रमणमा सिरियाली र रुसी लडाकु विमानहरु संलग्न रहेको अभियानकर्ताहरु बताउँछन् तर रुसले भने आफ्नो संलग्नता पुष्टि गरेको छैन। युद्धमा रुसले सिरियाली सरकारलाई र अमेरिकाले विपक्षी समूहलाई समर्थन गरेका छन्।
दुवै शक्ति राष्ट्रले मैदानमा रहेका आफ्ना समर्थकमाथि नियन्त्रण कायम गर्न नसकेको आरोप एकअर्कामाथि लगाउँदछन्। अमेरिका र रुसको नेतृत्वमा लागू गरिएको ७ दिने युद्धविराम सोमबार भंग भएको थियो।
युद्धविरामको उद्देश्य सहायता सामग्रीको वितरणमा सुधार गर्नु र इस्लामिक स्टेट र अरु लडाकु समूहविरुद्ध संयुक्त कारबाही अघि बढाउनु रहेको थियो।
तर अमेरिकी नेतृत्वको गठबन्धनले हवाई हमला गरेर ६० भन्दा बढी सिरियाली सैनिकको ज्यान लिएपछि उक्त युद्धविराम भंग भएको थियो।
गठबन्धनले उक्त घटनाका लागि क्षमायाचना गरेको थियो भने रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले उक्त घटनामाथि अनुसन्धानको आह्वान गरेका थिए। न्युयोर्कमा अमेरिकी विदेशमन्त्री जोन केरीसँग वार्ता गरिरहेका लाभ्रोभले युद्धविराम सामूहिक रुपमा पुनर्स्थापना गर्नुपर्ने आह्वानलाई शनिबार दोहोर्याए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19