– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । पछिल्लोपटक सेयर बजार निरन्तर घटेपछि अर्थ मन्त्रालय ब्याजदरसम्बन्धी नीतिहरुमा थप परिमार्जन गर्ने सोचमा पुगेको छ। 

अर्थ स्रोतका अनुसार सेयर बजारमैत्री नीतिहरु नै आउँदा पनि बजार घटेपछि लगानीकर्तामा विश्वासको वातावरण तयार गर्नुपर्ने सोचमा मन्त्रालय पुगेको हो। ‘हामीले सेयर बजार सुधारका लागि काम गरिरहेका छौँ’, अर्थ स्रोतले भन्यो, ‘१२ करोडको क्याप पनि पुनरावलोकन भएको छ। तर, पनि बजार हामीले सोचेभन्दा फरक तरिकाले चल्यो।’

अब ब्याजदरसम्बन्धी नीतिहरुमै परिमार्जन गर्नुको विकल्प नरहेको पनि स्रोत बताउँछ। ‘अब तत्काल अल्पकालीन मुद्दति निक्षेप (एफडी) ३ महिने र ६ महिने अवधिलाई पूर्ण रुपमा हटाउन राष्ट्र बैंकसँग कुराकानी भइरहेको छ’, स्रोतले भन्यो, ‘राष्ट्र बैंक पनि यो कुरामा सकारात्मक नै छ। मन्त्रालयको निचोड पनि अल्पकालीन एफडी हटाउनुपर्छ भन्ने हो।’

अर्थ मन्त्रालयका एक अधिकारीले सार्वजनिक संस्थानहरुले बैंकहरुमा राख्ने मुद्दति निक्षेपको ब्याजदर पनि अब ५ प्रतिशतभन्दा तल झार्ने तयारी भइरहेको बताए। ‘यसले पनि बजारमा १० अर्बजति सस्तो ब्याजको पैसा जान्छ’, ती अधिकारीले बिजशालासँग भने, ‘जसले गर्दा अन्य निक्षेपको ब्याज पनि घट्न जान्छ।’

बैंकहरुलाई खुला रुपमा ब्याज निर्धारण गर्न दिनु गल्ती भएको ती अधिकारीले बताए। 

मंसिर महिनामा पनि ब्याजदर घट्ने अर्थ स्रोत बताउँछ।