काठमाण्डौ । नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई असार २० गतेभित्र बिग मर्जरका लागि लिखित प्रतिबद्धता पठाउन निर्देशन दिएको छ । 

बिहीबार होटल याक एण्ड यतिमा वाणिज्य बैंकका अध्यक्ष र सीइओहरुलाई राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले यस्तो निर्देशन दिएका हुन् । 

केन्द्रीय बैंक मौद्रिक नीतिमार्फत जसरी पनि ‘बिग मर्जर’मा जान चाहेको र यसका लागि मौद्रिक नीतिअघि नै लिखित प्रतिबद्धता आउँदा आफूहरुलाई सहज हुने आशय गभर्नर नेपालले व्यक्त गरेका छलफलमा सहभागी एक बैंकरले जानकारी दिए । 

‘बिग मर्जरका लागि, मर्जरको मोडालिटीसहितको लिखित प्रतिबद्धता २० गतेभित्र पठाउन भनिएको छ ।’ ती बैंकरले भने–‘त्यसबेलासम्म पनि लिखित प्रतिबद्धता नआए वा नपठाउनेप्रति राष्ट्रबैंक मौद्रिक नीतिमार्फत नै कडा रुपमा प्रस्तुत हुने संकेत देखियो ।’ 

राष्ट्रबैंकका अधिकारीहरुले सकेसम्म एकहप्ताभित्र कुन बैंक कुन बैंकसँग मर्जरमा जान सक्छन् भन्नेसम्मको प्रतिबद्धता समेत मागेका बैंकरहरुको भनाई छ । ‘सकेसम्म कुन बैंकसँग कसरी मर्जरमा जान सकिन्छ भन्ने खालको कमिटमेन्टको आशा केन्द्रीय बैंकले राखेको देखियो ।’ छलफलमा सहभागी अर्का बैंकरले भने–‘यस्तो प्रतिबद्धता नआए २७ गते आउने मौद्रिक नीतिमा उहाँहरु(केन्द्रीय बैंक) अग्रेसिभ्ली रुपमा आउने भयो । उहाँहरु स्पष्ट रुपमा फोर्स मर्जरकै पक्षमै देखिनुभयो ।’

छलफलको क्रममा गभर्नरले कुनै पनि बैंकको नाम तोकेरै मर्जरका लागि दवाब भने दिएनन् । ‘सबै वाणिज्य बैंकहरुको विषयमा आफूहरुले पूरै एक्सरसाइज गरेको उहाँहरुको कुरा थियो, सबै विषयमा उहाँहरु जानकार नै हुनुहुन्छ ।’ एक वाणिज्य बैंकका अध्यक्षले बिजशालासँग भने–‘एकसाताभित्र उपयुक्त पार्टनर नखोज्ने बैंकहरुलाई उहाँहरुले मर्जरका लागि फोर्स गर्ने अवस्था देखियो ।’

छलफलको सुरुवातमा राष्ट्रबैंकको सुपरीवेक्षण विभागले बैंकहरुका समस्याको विषयमा निकै लामो प्रस्तुती दिएकोथियो । 

त्यसपछि ती समस्या समाधान गरी प्रणालीमा स्थायीत्व कायम गर्न, बैंकहरुलाई समस्याग्रस्त बन्न नदिन र सुशासनका लागि समेत बिग मर्जरको आवश्यकतालाई अगाडि सारिएको थियो । 

बैंकहरुको तर्फबाट नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले निकै लामो समय लिएर आफूहरुले मर्जरका लागि चाहेको सहुलियत लगायतको विषयमा प्रष्ट पार्ने काम गरेका थिए । 

त्यसपछि भएको छलफलमा अधिकांश बैंकरहरुले सिनर्जी आउने गरी मर्जर हुनुपर्ने र विगतमा जस्तो संख्या घट्ने खालको मर्जर मात्र हुन नहुनेमा जोड दिएका थिए । 

‘धेरैले सिनर्जी आउने गरी मर्जरमा जानुपर्ने कुरा राख्नुभयो ।’ स्रोतले भन्यो–‘कतिपय साथीहरुले व्यापारी र बैंकर छुयाउनुपर्ने माग समेत राखे ।’ 

राष्ट्रबैंकले अहिले विकास बैंकका अध्यक्ष र सीइओसँग छलफल गरिरहेको छ । 

बित्त कम्पनीका अध्यक्ष र सीइओलाई भने दिउँसो ३ बजे बोलाइएको छ ।