काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सले आगामी असार २८ गतेदेखि १६६.६७ प्रतिशत अर्थात कुल ६४ लाख २० हजार कित्ता हकप्रदको बिक्री खुल्ला गर्ने भएको छ । 

आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरिने हकप्रदमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 

हिमालयनले हकप्रदका लागि बुक क्लोजको मिति असार १६ लाई तोकेको छ । यसको अर्थ असार १५ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । इच्छुक सेयरधनीले एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालस्थित मुख्य कार्यालय र एनएमबी बैंकका देशभरका शाखा कार्यालयबाट हिमालयन जनरल इन्स्योरेन्सको हकप्रदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

हाल यो बिमा कम्पनीको चुक्तापूँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । १६६.६७ प्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी वृद्धि भई १ अर्ब २ करोडको उचाईमा पुुग्नेछ ।