काठमाण्डौ । असोज महिनामा मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर सार्वजनिक गरेर चर्चामा आएको सनराइज बैंक लिमीटेडले कात्तिक महिनाका लागि भने ब्याजदर घटाएको छ । 

केहीबेरअघि सार्वजनिक नयाँ दर अनुसार सनराइज बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर केही घटाएर अधिकतम ९ प्रतिशतमा सीमित गरेको हो । 

सनराइज बैंकले ३ महिनादेखि ६ महिने अवधिको व्यक्तिगत मुद्दतिमा ८ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्म अवधिमा ८.५० प्रतिशत र एक वर्ष वा सोभन्दा धेरै अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याजदर अफर गरेको हो । 

सनराइजको एनआरएन फिक्स्ड डिपोजिटको ब्याजदर पनि ९ प्रतिशतमै सीमित गरिएको छ । 

संस्थागत मुद्दति निक्षेपतर्फ पनि सनराइजले ब्याजदर घटाएको छ । जसअनुसार ३ महिनादेखि १ वर्षे अवधिको संस्थागत मुद्दति निक्षेपमा ८ प्रतिशत र एक वर्षभन्दा धेरै अवधिको मुद्दति निक्षेपमा ८.५० प्रतिशत ब्याज पाइनेछ । 

सनराइजले बचत खाताको ब्याजदर पनि घटाएको छ । जसअन्तर्गत अधिकांश बचत खाताको ब्याजदर अधिकतम ५.०७ प्रतिशत कायम गरिएको छ । 

बैंकको भदौ महिनाको बेस रेट ७.२२ प्रतिशत रहेको छ । बैंकले अधिकांश लोनको ब्याजदर बेसरेटमा ६ प्रतिशत प्रिमियम थपेर कायम गरिएको जनाएको छ । 

असोज महिनाका लागि भने सनराइजले निकै आक्रामक ब्याजदर सार्वजनिक गरेको थियो । असोज महिनामा सनराइज बैंकले ३ महिनादेखि ६ महिने मुद्दति निक्षेपकै ब्याजदर बढाएर ९.१० प्रतिशत पुर्याएको थियो । यस्तै, ६ महिनादेखि १ वर्षे अवधिको मुद्दतिको ब्याजदर बढाएर ९.६० प्रतिशत, एक वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढेर १०.०७ प्रतिशत पुर्याइएको थियो । 

संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि असोजमा बढाएको थियो ।  जसअनुसार ३ महिनेदेखि ६ महिने अवधिको नयाँ निक्षेपको ब्याजदर ९ प्रतिशत र नवीकरण हुने निक्षेपको ब्याजदर ९.०७ प्रतिशत पुर्याएको थियो । एक वर्षे तथा सोभन्दा बढी अवधिको संस्थागत निक्षेपको ब्याजदर १० प्रतिशत र नवीकरणको १०.०७ प्रतिशत पुर्याएको थियो ।