काठमाण्डौ । दसैँका लागि नयाँ नोटको सहटी सुविधा आउँदो असोज २९ गतेबाट पाइने भएको छ। 

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै असोज २९ गतेबाट नयाँ नोटको सहटी सुविधा उपलब्ध हुने जानकारी गराएको हो। असोज २८ गते घटस्थापना परेको छ। यसको मतलब घटस्थापनाको भोलिपल्टबाट नयाँ नोट साट्न पाइनेछ। 

गत वर्ष घटस्थापनाको एक साताअघिबाटै नयाँ नोट साट्ने सुविधा राष्ट्र बैंकले गरेको थियो। यसपालि भने केही ढिला गरी नयाँ नोट साट्ने सुविधा राष्ट्र बैंकले गरेको छ। 

राष्ट्र बैंकका अनुसार काठमाण्डौ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको छ। योसँगै वाणिज्य बैंकहरुले तोकेको नजिकको शाखा कार्यालयमार्फत पनि नयाँ नोट साट्न सकिनेछ। 

यसैगरी काठमाण्डौ उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखामार्फत नयाँ नोट साट्न सकिनेछ। 

राष्ट्र बैंकका एक अधिकारीका अनुसार यसपालि पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने सुविधा प्रदान गरिएको छ। जसअनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १–१ बन्डल नयाँ नोट साट्न पाउनेछन्। 

यसपालि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआरको पनि सुविधा उलब्ध गराइएको छ। ‘नयाँ नोट साट्न आउने ग्राहकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सक्नेछन्’, ती अधिकारीले भने।