काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीअन्तर्गत एभरेस्ट टिमले ‘लिडर एक्सलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। 

काठमाण्डौको कलंकीस्थित मोर्डन पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा एभरेस्ट टिमअन्तर्गत काठमाण्डौ उपत्यकाभित्रका ८० जना अभिकर्ताको उपस्थिति थियो। कार्यक्रममा एभरेस्ट टिममार्फत मात्रै चालु आर्थिक वर्ष २०८०–८१ मा मिसन पोसिपल ४० करोडको बिजनेस भित्र्याउने टार्गेट रहेको विषयमा छलफल गरिएको थियो। 

एभरेस्ट टिमका लिडर तथा कार्यक्रमका प्रमुख अतिथि चिफ एजेन्सी म्यानेजर गोविन्द जोशीले चालु आर्थिक वर्षमा एभरेस्ट टिमबाट मात्रै ४० करोड रुपैयाँको व्यवसाय गर्ने लक्ष्य रहेको बताए। कार्यक्रममा उपस्थित अभिकर्तालाई बीमासम्बन्धी सम्पूर्ण जानकारी दिइएको थियो। 

सोही टिमका अर्का चिफ एजेन्सी म्यानेजर नव उपाध्यायले बीमा कसरी गर्ने र बीमा गराउँदा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा प्रकाश पारेका थिए। 

त्यस्तै विशिष्ट अतिथिका रुपमा रहेका प्रधान कार्र्यालयका अन्डरराइटर हेड सुदिप राणाले अभिकर्ताले बीमा गर्दा जोखिमांकनको समेत मूल्यांकन गर्नुपर्नेमा जोड दिए। ‘अभिकर्ताले बीमा गराउँने सन्दर्भमा बीमितसँग कसरी ट्याकल गर्ने भन्ने कुराको जानकारी राख्नुपर्छ’, उनले भने, ‘एजेन्टले आफ्नो जोखिम नै कम्पनीको जोखिम हो भन्ने कुरा बुझ्न जरुरी छ, बीमा गराउने बेला मेडिकल, फाइनान्सियल र पर्सनल कुरा हेरेरमात्रै बीमा गराउनुपर्दछ, यसले गर्दा बीमाको जोखिम कम हुन सक्छ।’ 

त्यस्तै, कार्यक्रमको मुख्य प्रायोजकमा हिमालयन ब्रोकरेज कम्पनी (स्टक ब्रोकर नं. ६३) रहेको थियो। 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष अर्यालले अभिकर्तालाई सेयर बजारका विषयमा जानकारी दिएका थिए। कम्पनीका अभिकर्तालाई स–सानो रकम सेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्दै कम्पनीले नयाँ तरिकाबाट सेवा सुविधा दिने उनले प्रतिबद्धता व्यक्त गरे। 

कम्पनीमा सहभागी अभिकर्तालाई सम्मान समेत गरिएको थियो। उत्कृष्ट प्रिमियम भित्र्याउने १० जना र टिम बिजनेसमार्फत १० जना र एमडीआरटी विन्दु श्रेष्ठ गरी २१ जना अभिकर्ता सम्मानित भएका थिए।