काठमाण्डौ । आईपीओ निष्कासन गर्न लागेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा लोभलाग्दो प्रगति गर्न सफल भएको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ४ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा झन्डै २०० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २७०.९२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ।

संस्थाको खुद ब्याज आम्दानी ६७.९८ प्रतिशतले बढेर १८ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ११ करोड ११ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब १५ करोड रुपैयाँ सापटी लिई २ अर्ब ५८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६६ करोड ९१ लाख रुपैयाँ सापटी लिई १ अर्ब २९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार पनि ६५.४२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७ करोड २७ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १२ करोड ३ लाख रुपैयाँ पुगेको छ।

संस्थाको चुक्तापुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ।

राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

आईपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी २६ करोड रुपैयाँ पुग्नेछ। यो संस्था नेपाल ग्रामीण विकास संस्था, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकसमेतको संयुक्त उपक्रम हो। संस्थाको हाल सातै प्रदेशमा कुल ८५ शाखा रहेका छन्।

राष्ट्रियस्तरको यो संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपास्थित साँगामा रहेको छ।