काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३४.१२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ३४.१२ प्रतिशतले घटेर ८ करोड ५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा १२ करोड २२ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा संस्थाले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी १२ करोड ८५ लाख रुपैयाँ रहेको थियो।

पहिलो त्रैमासमा संस्थाले २ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष संस्थाले २ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

संस्थाको रिजर्भको आकार ६६.१३ प्रतिशतले बढेर ४८ करोड ११ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २८ करोड ९५ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १७ करोड २१ लाख रुपैयाँ रहेको संस्थाको खराब कर्जा (एनपीएल) बढेर ७.३२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा एनपीएल २.७३ प्रतिशतमा सीमित थियो। 

नेष्डो समृद्धि लघुवित्तले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाइसकेको छ। आईपीओ निष्कासनको अनुमति माग्र्दै संस्थाले गत असार ६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिइसकेको छ। 

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाले हाल ५६ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ७८ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँंदै आइरहेको छ। 

विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई काम गर्दै आइरहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५ फागुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाका रुपमा इजाजत प्राप्त गरेसँगै वित्तीय कारोबार गर्दै आएको छ।