काठमाण्डौ । राष्ट्रिय स्तरको एस डेभलपमेन्ट बैंक र दश जिल्ले अरनिको डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई क्रमशः २०.२५ र १७.८९ प्रतिशत लाभांश वितरणको घोषणा गरेका छन् । 

दुवै बैंकले मंगलबार नेप्सेमा सूचना प्रकाशित गर्दै आ–आफ्नो बोर्ड बैठकले लाभांश घोषणा गरेको जानकारी दिएका हुन् । 

एस डेभलपमेन्ट बैंकको असोज २ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २०.२५ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट यो निर्णय स्वीकृत भएपछि घोषित बोनस लगानीकर्ताले पाउनेछन् । 

गत वर्ष यो बैंकले लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । एस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा २६ करोड १८ लाख खूद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्तापूँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । 

यसैगरी, अरनिको डेभलपमेन्ट बैंकले समेत आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको छ । 

बैंकको असोज ३ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेको हो । घोषित लाभांश राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत हुनुपर्नेछ । 

गत वर्ष यो बैंकले १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमाससम्ममा यो बैंकले ५ करोड ८४ लाख खूद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्तापूँजी २५ करोड ७८ लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि चुुक्तापूँजी ३० अर्ब १६ करोड पुग्नेछ ।