– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने १ दिन बढेको छ। 

अघिल्लो साता १९५६.४२मा बन्द भएको बजार यो साता १८७४.६ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ८२.४२ अंकको गिरावट आएको छ। अघिल्लो साता पनि सेयर बजारमा ४७.३८  अंकको गिरावट आएको थियो। 

यो साता सेयर बजारमा ७ अर्ब ४ करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता ७  अर्ब ६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। अघिल्लो साताको तुलनामा यो साता कारोबार र सूचक दुवैमा गिरावट आएको छ। 

यो साता बजार पुँजीकरण २८ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो साता बजार पुँजीकरण साता २९ खर्ब ८४ अर्ब रुपैयाँ रहेको थियो। यस हिसाबले यो साता लगानीकर्ताको सम्पत्ति १ खर्ब १२ अर्ब रुपैयाँ घटेको छ। 

प्राविधिक पक्ष

मुभिङ एभरेज च्यानलका आधारमा 

मुभिङ एभरेज भनेको एउटा औसत मूल्यको समूह हो। मुभिङ एभरेजलाई अर्को शब्दमा रोलिङ एभरेज अर्थात् रनिङ एभरेज पनि भनिन्छ। प्राविधिक विश्लेषणमा यो विधि सेयर, डेरिभेटिभ तथा विदेशी मुद्रा कारोबारमा प्रयोगमा आउँछ। 

यो विधिमा तथ्यांकको एउटा निश्चित समूहलाई प्रयोग गरी औसत मूल्यको शृंखला तयार पारिन्छ। उदाहरणका लागि ५ दिनको मुभिङ एभरेज निकाल्ने हो भने त्यसका लागि पहिलो ५ वटा मूल्य जोडेर ५ ले नै भाग गरेर एउटा अंक निकालिन्छ। 

मुभिङ एभरेज भनेको मुभ हुँदै एभरेज निकाल्ने भएकाले दोस्रो एभरेजका लागि सुरुको एक अंक छाडेर त्यसपछिको ५ वटा अंकलाई पुनः औसत निकाल्ने र यो प्रक्रिया निरन्तर दोहोर्याएर जाने हो। 

मुभिङ एभरेज खासगरी टेवा र अवरोध पत्ता लगाउन प्रयोग गरिन्छ। बढ्दो बजारमा मूल्यरेखा मुभिङ एभरेजको रेखाभन्दा माथि–माथि चल्छ। अर्थात्, यसले सपोर्टको काम गरेको हुन्छ। यसविपरीत घट्दो बजारमा वास्तविक मूल्यरेखा मुभिङ एभरेजका रेखाभन्दा तल–तल चलेका हुन्छन्। यही आधारमा बजारको दिशा पत्ता लगाउने गरिन्छ। 

साप्ताहिक रुपमा बजारलाई हेर्दा मुभिङ एभरेज रेखाभन्दा तल बजार खसेको छ। अर्थात्, बजारले सपोर्ट लिन नसकेको देखिन्छ। हाल १८७५ मा चलेको बजार साइडवेज बजारका रुपमा देखिन्छ। मुभिङ एभरेजका आधारमा बजार २०७५ भन्दा लागेपछि मात्रै बुल बजार मान्न सकिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक रुपमा बोलिंगर ब्यान्डबाट नियाल्दा यो साता बजारले तल्लो ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ। यसअघि पनि बजारले ब्यान्डको तल्लो विन्दुमा सपोर्ट लिएको देखिन्छ। 

साप्ताहिक  रुपमै म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। 

आरएसआईमार्फत हेर्दा हाल ४० को तहमा चलेको छ। यसअघि पनि यही विन्दु आसपासमा बजारले सपोर्ट लिएको देखिन्छ। 

समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा यो साता घटेको बजार आगामी साता सम्हालिन सक्ने सम्भावना रहन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

प्रतिरोध ३ –२१६३
प्रतिरोध २ –२१०२
प्रतिरोध १– २०५३

पिभट प्वइन्टः १९९१

घटेमा सपोर्ट 

सपोर्ट १– १९४२
सपोर्ट २– १८८०
प्रतिरोध ३ –१८३१

निष्कर्ष

यो साता सेयर बजारमा करिब ८२ अंकको गिरावट आएको छ। योसँगै बजार पुँजीकरणमा पनि गिरावट आएको छ। अघिल्लो साताको तुलनामा यो साता १ खर्ब १२ अर्ब रुपैयाँले बजार पुँजीकरण घटेको छ। 

प्राविधिक रुपमा यो साताको बजारले साप्ताहिक रुपमा बोलिंगरको तल्लो ब्यान्डमा सपोर्ट लिएको छ। यस हिसाबले आगामी साता बजार सम्हालिन सक्ने देखिन्छ। 

मुभिङ एभरेजमार्फत हेर्दा बजार साइडवेज चलेको देखिन्छ। डाउ थेउरीमार्फत बजार नियाल्दा नयाँ लोवर लो बनाएको छ। यसले बजार बियरिस बनेको बुझिन्छ। 

इलिअट वेभमार्फत बजार नियाल्दा माइनरको वेभ यदि १८५० भन्दा माथि–माथि नै टिक्छ भने त्यो वेभ–२ रहेको र त्यसपछिको बजार वेभ–३ हुन जान्छ। 

हालको बजार डिमान्ड जोनमा रहेको देखिन्छ। यदि आगामी दिनमा बजार बढ्छ भने १९८० मा एउटा प्रतिरोध र त्यसपछि २०४० मा दोस्रो प्रतिरोध सामना गर्न सक्छ। घटेमा भने बजारले १८५० मा बलियो सपोर्ट लिन सक्छ। यस हिसाबले तीन साता लगातार घटेको बजार आगामी साता भने सम्हालिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस होइन।