-अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ ।

चार दिनमा बजार दुई दिन बढेको छ भने दुई दिन घटेर बन्द भएको छ । अघिल्लो साता २ हजार ८८.९९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ ।

जसअनुसार यो साता ६६.८३  अंकले बजार बढेको छ । अघिल्लो साता  पनि बजार करिब ४० अंकले बजार बढेको थियो । 
 

यो साता चार दिनको कारोबारमा ३१.४२  अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता भने २५.४७ अर्ब रुपैयाँ मात्रै भएको थियो । जसअनुसार यो साता कारोबार र सूचक दुबैमा बढोत्तरी आएको छ ।

योसँगै लगातार दुई साता दोस्रो बजारमा कारोबार र सूचकमा बढोत्तरी आएको छ । 
प्राविधिक पक्ष :
इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् ।  त्यस्ता साना ठूला डिग्रीहरुले गरेर एक दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन् भने तल जान तीन वटा वेभ हुन्छन् ।

माथि लाग्ने पाँच वेभमा पनि तीन वटा चडावका र दुई वटा सुधारका हुन्छन्। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन(सुधार) को हुन्छन् । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी र सी चाहिं मूल्य तथा सूचक तल जाने संकेत हो ।
 

लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र भोलुम समेतबाट यो साताको बजारलाई हेर्दा हालको करेक्सन ‘माइनर डिग्री’ को वेभ ५ सिद्धिएको  देखिन्छ । जसलाई कारोबार र भोलुमले पनि पुष्टि गरेको छ । बजारलाई पछिल्लो पटकको न्युन विन्दुबाट नियाल्दा माइनरको वेभ १ मा  १ हजार ८३४ देखि १ हजार ९१० विन्दुसम्म, वेभ २ मा करेक्सन भएर १ हजार ८४० विन्दुसम्म आएको छ । 
 

वेभ ३ मा तीब्र बढोत्तरीका साथ २ हजार १४० विन्दुसम्म बजार पुगेको छ । त्यसपछि वेभ ४ मा करेक्सनका साथ २ हजार २२ विन्दुसम्म आयो । यसका साथै वेभ ५ मा बढोत्तरीका साथ बजार २ हजार २१५ विन्दुसम्म पुगेको देखिन्छ । यो साता नै बजार करेक्सन भएर २ हजार १५५ विन्दुमा बन्द भएको छ । यस हिसावले हाल बजारमा ‘वेभ ए’ को करेक्नस चल्दै गरेको देखाउँछ ।

आगामी साता यदि बजार बढेमा भने, यो  वेभ बी हुन सक्छ । बजारले यो साता बनाएको उच्च विन्दु ब्रेक गर्न नसकेर तल खस्यो भने त्यो वेभ सी हुने र बजार करिब २ हजार २५ विन्दुसम्म झरेर वेभ सी बन्न सक्छ । (हेर्नुहोस, माथि मूख्य तस्बिरमा)
बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआई :
साप्ताहिक रुपमा बजारलाई बोलिङगर ब्यान्डमार्फत् हेर्दा यो साता बजार बोलिङगर ब्यान्डको अपर ब्यान्डमा माथि लामो धागोसहितको क्यान्डल बनेको छ । यसले यो साता बजारमा तीब्र नाफा बुक भएको देखिन्छ ।

डेली बेसमा पनि यो अपर ब्यान्डमा सुटिङ स्टार बनाएर बजार मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ । म्याक्डीमा हेर्दा साप्ताहिक र डेली दुबैमा बजार बुलिस क्रस ओभर नै छ । हिस्टोग्राम पनि सकारात्मक नै छन् । आरएसआईमार्फत् नियाल्दा बजार ओभर बट जोन ७१ बाट खसेर ६७ को तहमा बजार पुगेको छ ।

समग्रमा तीन वटै इन्डिकेटरबाट बजारलाई साप्ताहिक र डेली बेसमा हेर्दा लगातार दुई साता बढेको बजारमा यो साता अन्तिम कारोबारहरुमा नाफा बुक चलेको देखिन्छ । जसलाई प्राविधिक भाषामा भन्नु पर्दा आरएसआईमा विारिस डाइभर्जेन्स बन्दै गरेको बुझिन्छ । 
पिभट विश्लेषणले सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्दछ ।

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –२२२७
प्रतिरोध २ –२१७१
प्रतिरोध १– २१३०
पिभट प्वइन्ट : २०७५

घटेमा सपोर्ट :
सपोर्ट १– २०३३
सपोर्ट २– १९७८
सपोर्ट  ३ –१९१७
निष्कर्ष : नेप्सेमा लगातार दुई सातादेखि बढोत्तरी आएको छ । तर यो साताको अन्तिम दुई वटा कारोबारमा बजारमा करेक्सन आएको छ । बजारलाई पछिल्लो पटकको न्युन विन्दु १ हजार ८३४ विन्दुदेखि यो साताको उच्च विन्दु २ हजार २१५ विन्दुसम्म नियाल्दा इलिअट वेभको माइनर डिग्री अर्थात् सानो समय अवधिमा १ देख ५ सम्मको चक्र चलेको देखिन्छ । जसमा वेभ ३ मा बजारमा राम्रै बढोत्तरी आउने गर्छ ।

वेभ १ र ५ मा सामन्य बढोत्तरी आउने गर्छ जसलाई बजारले पुष्टि गरेको छ । यस आधारमा भन्दा  बजारले एउटा चक्र पुरा गर्दै गरेको देखिन्छ । जसअन्तरगत आागामी साता वेभ ए बी सी चल्न सक्छ । हालको करेक्सन वेभ ए चलेको  र आगामी कारोबारमा बढोत्तरी आएमा त्यो ‘वेभ बी’  हुने सम्भाबना छ ।

अबको बढोत्तरीमा पनि यदि बजारले यसअघिको  २ हजार २०० विन्दु माथिको प्रतिरोध ब्रेक गरेर माथि जान सकेन भने बजारमा ए,बी र सी चलेको निश्चित हुने छ । त्यस्तो करेक्सनमा भने बजार २ हजार २५विन्दु आसपाससम्म आउन सक्छ । त्यसपछिको नयाँ बढोत्तरीले मात्रै बजारमा नयाँ उचाइ चुम्नसक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)