-अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपालमा जलविद्युतलाई ‘सेतो हीरा’ पनि भनिन्छ । सञ्चालनमा आएको १५ वर्षसम्म सरकारलाई तिर्नुपर्ने करमा सहुलियत पाउने र नाफा उच्च हुने हुँदा लगानीकर्ता अहिले दोस्रो बजारको जलविद्युत समूहमा आकर्षित छन्।

त्यसको अलावा जलविद्युत् कम्पनीको प्रतिफल पहिले नै निश्चित तथा नियमित हुने हुँदा लगानीकर्ताको रोजाइमा यो समूह पर्ने गरेको छ। 
नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीमध्ये एकमात्रै राष्ट्रिय गौरवको आयोजना भनिएको अपर तामाकोशी जलविद्युत् आयोजना नै हो।

आज हामीले देशकै ठूलो यही जलविद्युत् आयोजनाको प्राविधिक तथा आधारभूत पक्ष केलाउने कोशिश गरेका छौं। 

यो आयोजनामा ५१ प्रतिशत विभिन्न सरकारी संस्थानहरुको लागानी छ। जसमा नेपाल विद्युत् प्राधिकरणको मात्रै ४१ प्रतिशत, नेपाल दूरसञ्चारको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशतका दरले लगानी छ।

बाँकी ४९ प्रतिशतमा सर्वसाधारणको १५ प्रतिशत, स्थानीयको १० प्रतिशत र २४ प्रतिशत कर्मचारी सञ्चय कोष र आयोजनामा योग्दान गर्ने कर्मचारीलाई छुट्याएर लगानी व्यवस्थापन गरिएको छ। यो कम्पनीको हाल दोस्रो बजारमा एक करोड ७० लाख कित्ता सेयर बोलकबोलमार्फत् सेयर बिक्रीमा छ । 
आधारभुत पक्ष : 
चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी करिब १६ अर्ब रुपैयाँ छ । कम्पनीको जगेडा कोष ६ अर्ब २४ करोड नकारात्मक  छ ।

कम्पनीको खुद मूनाफा १  अर्ब ७२ लाख ५८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी भने ६.३ रुपैयाँ छ । कम्पनीको नेटवर्थ ६१ रुपैयाँ छ । कम्पनीले केही समय पहिले १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । 
प्राविधिक पक्ष :
 फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल न्युट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताको खरिदबिक्री सामान्य अवस्थामा छ । कम्पनीको ५२ साताको उच्च मूल्य ५६८ रुपैयाँ थियो भने न्युन मूल्य १९२ रुपैयाँ थियो । कम्पनीको सर्वसाधारणतर्फको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भइसकेको छ । 


बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआईको आधारमा 
यो कम्पनीको सेयर भाउ करिब साढे २ वर्षदेखि बोलिङगरको तल्लो ब्यान्डमा चलेको छ । हाल मध्य ब्यान्डभन्दा तल- तल चलेको छ । तर अपर ब्यान्ड र लोवर  ब्यान्डको दुरी घट्दै गएको अवस्था छ ।

यदि आगनमी दिनमा मध्य ब्यान्डलाई ब्रेक गरेर मूल्य रेखाहरु माथि माथि चलेको खण्डमा यो कम्पनीको सेयर भाउले अप ट्रेन्ड लिन पनि सक्छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा लामा हुँदै गएका छन् । आरएसआई पनि ओभर सोल्ड जोनबाट फर्केर हाल ३९ को तहमा पुगेको छ ।

समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा कम्पनीको सेयर भाउ २०० रुपैयाँ आसपासमा विस्तारै सम्हालिदै गरेको देखिन्छ । 
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –२२३
प्रतिरोध २ –२१५
प्रतिरोध १– २०७
पिभट प्वइन्ट ः २००

घटेमा सपोर्ट :
सपोर्ट १– १९२
सपोर्ट २– १८४
प्रतिरोध ३ –१७६

निष्कर्ष : अपर तामाकोशी जलविधुत कम्पनीको सेयर भाउ विगत करिब ३२ महिनादेखि निरन्तर घटेको छ । विभिन्न इन्डिकेटरमार्फत् हेर्दा यो कम्पनी सेयर भाउ साइडवेजमा चलेको देखिन्छ ।

कम्पनीको पिभट् प्वइन्ट २०० मा छ । यदि आगामी दिनमा कम्पनीको सेयर भाउ २०० रुपैयाँभन्दा माथि माथि टिक्छ भने  २२३ रुपैयाँसम्म जान पनि  सक्छ । तर २०० रुपैयाँबाट पनि तल झर्छ भने १७६ रुपैयाँसम्म कम्पनीको सेयर भाउ आउन सक्छ ।

कम्पनीको सेयर  भाउ माग र आपूर्तिमा पनि चल्ने गर्छ । यस कम्पनीको करिब १० लाखभन्दा बढी कित्ता सेयर दोस्रो बजारमा सूचीकृत हुन अझै बाँकी छ । त्यसैले कम्पनीको सेयर भाउले अहिले नै छलाङ मारिहाल्ने अवस्था भने रहँदैन । 

(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्वेषण कारोबारको लागि भने होइन ।)