काठमाण्डौ । लकडाउन केही खुकुलो भएपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि आजदेखि बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र खुल्ने भएका छन् । 

यसअघि लकडाउन खुकुलो भएसँगै  नेपाल  राष्ट्रबैंक एकतिहाई कर्मचारी मात्र राखेर सबै शाखा संचालन गर्न सकिने निर्देशन दिएको थियो । 

तर आज(बिहीबार)देखि सरकारले लकडाउन पुनः कडा बनाएपछि राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सीमित शाखा मात्र संचालन गर्न निर्देशन दिएको हो । 

यो निर्देशनसँगै आजदेखि पुनः बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सीमित शाखा मात्र संचालन गर्नेछन् । यसका लागि राष्ट्र बैंकले २७ वाणिज्य बैंकहरुलाई २० वटाका दरले र विकास बैंकहरुलाई १० वटाका दरले पास दिएको छ । 

फाइनान्स कम्पनीहरुलाई ८ वटा र लघुवित्त वित्तीय संस्थाहरुलाई प्रति संस्था ५ वटाका दरले पास वितरण गरिएको छ ।